फाइल तस्बिर
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको दाबी गरेका छन्।
नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकैठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताए।
नेपालमा हवाइ यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उनले निकट भविष्यमै २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताए।
अबको ५ वर्षभित्र कुनैपनि हालतमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुने बताएका उनले यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको उल्लेख गरेका छन्।
त्यस्तै उत्तरदक्षिण दुबै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नती गर्ने र नयाँ नाका खोल्ने तथा पूर्वपश्चिम जोड्ने चारवटा राजमार्गहरुको निर्माण अघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने उनले बताए।
युरोपेली संघले हवाइ सेवाका लागि नेपाललाई कालोसूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने पनि उनले विश्वास व्यक्त गरे। उनले युरोपेली संघसँग निरन्तर वार्ता अघि बढाइएको र चाँडै नै निष्कर्शमा पुगिने उल्लेख गरे।
कर्यक्रममा विज्ञहरुले मुलुकको पुर्वाधार विकासका लागि क्षेत्रीय अन्तरआबद्धतामा जोड दिएका छन्। सहभागी विज्ञहरुले समृद्धि र विकासका लागि आन्तरिक तथा बाह्य रुपमा समानान्तर विकास हुनुपर्ने बताएका छन्।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले भूपरिवेष्ठित मुलुकहरुले सम्पत्ति सृजना गर्न भौतिक पूर्वाधार, अन्तर आबद्धता, सूचना प्रविधि, दीर्घकालिन योजनाजस्ता निश्चित क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।
‘नेपालको सहरी विकास र ग्रामीण विकासको खाडल ठूलो भएकाले यसको असामञ्जस्य कम गर्न सरकारले लगानी बढाउनुपर्छ,’ उनले भने।
वाग्लेले नेपाल विश्वब्यापी विकास सूचकांकमा केही पछाडि परे पनि सुधारको क्रम उत्पाहप्रद रहेको बताए।
उनले विश्व अर्थव्यवस्थाको केन्द्र एसियामा स्थानान्तरण भएकाले हामीले छिमेकी चीन र भारतबाट यसको लाभ लिन सक्नुपर्ने उल्लेख गरे।
यसका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा कार्यक्रममा एसियाली विकास बैंकका पुर्वमहाप्रबन्धक नोरितादा मोरिताले एसियाको अहिलेको आवस्यकता भनेको अन्तरआबद्धता नै भएको बताए।
‘यसअघि दक्षिण र पूर्वी एसियाको आवस्यकता शान्तिस्थापना थियो,’ उनले भने, ‘तर अब यहाँका मानिसहरुको आवस्यकता भौतिक पुर्वाधार निर्माण र जनताको आयस्तर बढाउनु हो।’
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपालले छिमेकी मुलुकहरुसँग व्यापारिक सम्बन्ध बढाएको बताए।
उनले क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा ऊर्जा, विद्युत् प्रशारण लाइनको अन्तरआबद्धता, दूरसञ्चार, रेल, पानीजहाज, हवाइ सम्बन्धजस्ता बहुपक्षीय सञ्जाल विकास गर्नेगरी योजना तयार गरेर काम अघि बढाइसकेको जानकारी दिए।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालले ऊर्जा क्षेत्रका लागि दीर्घकालिन योजना तयार पारिसकेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे।
अबको केही वर्षमा नेपाल विजुली निर्यात गर्ने मुलुकको सूचीमा समावेश हुने भन्दै उनले चाँडै नै कम्तीमा ५ हजार मेगावाट विद्युत् छिमेकी मुलुकमा बिक्री गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।