भिजिट नेपाललाई लक्षित गर्दै नेपाल-भारत-चीन एक्स्पो गरिने

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १६:४६:०० मा प्रकाशित

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लागि लक्षित गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल भारत चाइना एक्सपो आयोजना गर्ने भएको छ।

पाटाले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० को सचिवालयको समन्वय र सहकार्यमा  आगामी फेब्रुअरी २१ देखि २४ सम्म पहिलो पटक पर्यटन प्रवर्द्धनका लागि तीन देश मात्रै सहभागी हुने गरी एक्सोप गर्न लागेको हो।

‘विश्वको पर्यटन इतिहासमा पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस सम्भवतः पहिलो पर्यटन मेला हुन्छ,’ पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले भने, ‘जुन नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ।’

नेपालको निकट छिमेकी पर्यटन स्रोत बजार (भारत र चीन)बाट यो एक्सपोमा पर्यटन सम्बन्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् विभिन्न संघ संस्थाहरुको उपस्थिति रहने उनको भनाइ छ।

एकै थलोमा आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनका नयाँ आयामहरु उजागर गराउनसमेत एक्सपो महत्वपूर्ण मञ्च हुने उनको भनाइ छ।

सन् २०१८ को तथ्यांक अनुसार चीनबाट वार्षिक १ सय ६० मिलियन पर्यटक विश्व भ्रमणमा जाने गरे पनि नेपाल आउनेको हिस्सा शून्य दशमलव १ प्रतिशत र भारतबाट २८ दशमलव ८५ मिलियन भारतीय आउटबाउन्ड पर्यटकमध्ये शून्य दशमलब ७५ प्रतिशत मात्रै नेपाल आउने गरेको अवस्थमा यो एक्स्पो अतिनै महत्वपूर्ण हुने शाक्यको भनाइ छ।

नाइस कार्यक्रमले भिजिट नेपाल २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्म ५० लाख पर्यटक ल्याउने सरकारी लक्ष्य प्राप्तीका लागि समेत महत्वपूर्ण आधारशिला तयारी गर्ने अपेक्षा लिएको उनको भनाइ छ।

‘नाइस’ एक्सपोमा २ सय भन्दा बढी क्रेताहरु, १ सय भन्दा बढी बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढी सञ्चार कर्मी, विज्ञ बक्ता लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था,सरकारी निकाय तथा सरोकारवाला गरी १ हजारभन्दा बढीको सहभागी रहने पाटाले जनाएको छ।