मलेसिया रोजगारी : प्राविधिक कमिटीको २ दिने संयुक्त बैठक निष्कर्षविहीन, बिहीबार पुनः बैठक

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १६:५८:०० मा प्रकाशित

काठमाडौं- नेपाली कामदार मलेसियामा आपूर्ति गर्ने सम्बन्धमा नेपाली तथा मलेसियाली प्राविधिक कमिटीबीच दुई दिन छलफल चलेको छ। तर पनि छलफल कुनै निष्कर्षमा पुग्न सकेको छैन। 

मंगलबार र बुधबार मलेसियामा बसेको दुई देशका प्राविधिक कमिटिको बैठकले मलेसिया र नेपालबीच कामदार भर्ना प्रक्रियाबारे बाँकी काम टुंगो लगाउन नसेकेको हो। 

दुई दिनका लागि भनिएको बैठकमा नेपाली कामदार भर्ना प्रक्रियाका विषयमा टुंगो लाग्न नसकेपछि बिहिबार पुनः बैठक बस्ने भएको वैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।  

कामदारमाथि अत्यधिक आर्थिक भार थपिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गर्ने निर्णय गराएका थिए। बन्द भएको मलेसिया रोजगारी १५ महिना बितिसक्दा पनि खुल्न सकेको छैन। 

गत वर्ष कात्तिक १२ गते मलेसिया र नेपाल सरकारबीच शून्य लागतमा कामदार पठाउने गरी श्रम समझदारी भइसकेपछि पनि समझदारी अनुसार नेपाली कामदार मलेसिया जान पाएका छैनन्। 

नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठकको मुख्य एजेन्डा मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नयाँ स्वास्थ्य संस्था थप गर्ने रहेको बताइएको छ। 

यसअघि ३७ वटा मेडिकल संस्थाले मात्रै मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए। श्रम समझदारीमा मापदण्ड पुगेका नयाँ स्वास्थ्य संस्था थप गर्न सकिने विषय समेटिएको छ। 

सोही अनुसार मलेसियाले पठाएको स्वास्थ्य संस्थाको मापदण्डका आधारमा नेपाल सरकारले १ सय २२ वटा स्वास्थ्य संस्था छनोट गरी सूची मलेसिया पठाइसकेको छ। तर मलेसिया सरकारले तत्काल पुरानै ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउने अडान छाडेको छैन। 

बैठक बिहीबार पनि जारी रहने भएकाले सो बैठकपछि निष्कर्षमा पुग्न सकिने अपेक्षा गरिएको बैठकमा सहभागी एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिएका छन्।