काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य भेट्टाउन नेपालले ५५ देखि ६० प्रतिशतसम्म लगानी पूर्वाधारमा गर्नुपर्ने भएकाले नेपालमा यस क्षेत्रमा लगानीका लागि पर्याप्त ठाउँ रहेको बताएका छन्।
सरकारले पूर्वाधारदेखि सामाजिक क्षेत्रसम्मलाई प्राथमिकतामा राखेको भन्दै अर्थमन्त्री खतिवडाले लगानीका पर्याप्त क्षेत्रहरु नेपालमा रहेको उल्लेख गरे।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा अर्थमन्त्री खतिवडाले सरकारले तयार गरेको मौलिक हकसम्बन्धि कानुनहरुले सामाजिक क्षेत्रमा लगानीको आवश्यकता देखाएको भन्दै पूर्वाधारमा निजी क्षेत्र र बाह्य लगानीकर्ताले लगानी गर्न सक्ने ठाउँ रहेको उल्लेख गरेका हुन्।
'हामीलाई वित्तीय संघीयता सञ्चालन गर्न ठूलो स्रोतको आवश्यकता पर्दछ, त्यसैले पनि हामी लगानीको दबाबमा छौँ,' खतिवडाले भने, 'सामाजिक सुरक्षामा नेपाल दक्षिण एसियामै उदाहरण हो, हामीले हाम्रो बजेटको १५ प्रतिशतसम्म यसमा लगानी गर्नुपर्नेछ। त्यसकारण पनि पूर्वाधार क्षेत्रमा लगानी आवश्यक छ।' सामाजिक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी लगानीका कारण पनि निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा भित्र्याउनु पर्ने उनको भनाइ छ।
सरकारले निजी क्षेत्रको लगानीका लागि सहयोगी वातावरण बनाउँदै अघि बढिरहेको खतिवडाले बताए। सरकारले केही समयपछि विद्युत उत्पादनमा लगानी बन्द गरी यो क्षेत्र निजी क्षेत्रलाई छाड्नुपर्ने उनको भनाइ छ। सरकारले निजी क्षेत्र अघि नसरेको प्रसारण लाइन निर्माणमा काम गरिरहने उनको भनाइ छ। 'सरकारले सवारी साधन चलाउने होइन, सवारी साधन चलाउने निजी क्षेत्रका लागि राम्रो बाटो निर्माण गर्नेछ,' उनले भने, 'जुन क्षेत्रमा निजी क्षेत्रले काम गरिरहेको छ, त्यसमा सरकारले सहयोग गर्छ।'
सरकारले कानुनी सुधारका कामहरुलाई निरन्तर अघि बढाइरहेको भन्दै खतिवडाले केही नयाँ कानुन संशोधनको क्रममा रहेको पनि बताए। उनले औद्योगिक पूर्वाधार निर्माणको क्षेत्रमा पनि सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे।
सरकारले विदेशी लगानीको जोखिम न्यूनीकरणका लागि हेज फन्ड कार्यान्वयनमा ल्याउन लागिरहेको पनि खतिवडाले बताए। 'सरकार र निजी क्षेत्र दुवै विन विनको अवस्थाबाट अघि बढ्ने हो,' उनले भने, 'एउटा क्षेत्रले जित्ने र अर्को क्षेत्रले हार्ने गरी अघि बढ्ने होइन।' व्यावसायिकरुपमा उपयुक्त हुने खालका आयोजनामा निजी क्षेत्र अघि बढ्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए।
अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्न सरकारले 'भाएबिलिटी ग्याप फन्डिङ मोडालिटी'मा पनि काम गर्न सकिने उल्लेख गरे। पूर्वाधार क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न यो मोडलमा सरकार अघि बढ्न सक्ने खतिवडाले बताएका हुन्। अर्थमन्त्री खतिवडाले नेपालमा बैंक तथा वित्तीय क्षेत्रले छोटो समयमा नाफा हेर्दा भएको लगानी पूर्वाधारमा भन्दा व्यापारमा बढि प्रयोग भइरहेको पनि टिप्पणी गरे।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव लालशंकर घिमिरेले निजी क्षेत्रको लगानी विस्तारमा सरकारको भूमिका निकै महत्वपूर्ण हुने उल्लेख गरे। सरकारले निजी क्षेत्रको लगानीलाई सहजीकरण गर्न कानुन संशोधनलगायका काम अघि बढाइरहेको पनि घिमिरेले बताए।
हालै अवकाशप्राप्त घिमिरेले नेपालको देशीय रेटिङ छिट्टै सम्पन्न हुने भन्दै घिमिरेले यसले पनि नेपालको सकारात्मक स्थिति बताउने अपेक्षा राखे। अर्थ मन्त्रालयले यो काम अघि बढाउन उनकै संयोजकत्वमा काम अघि बढाएको थियो।
यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालमा पूर्वाधार क्षेत्रको लगानीमा आयोजनापिच्छे फरकफरक समस्या आउने बताए। उनले एउटै क्षेत्र पनि फरकफरक समस्याले गाँजिएका कारण लगानी गर्न अफ्ठेरो परेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।