धनगढी- भारतको सिम्लाबाट एक नेपाली बालकलाई उद्धार गरिएको छ। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका १३ वर्षीय बालकलाई उद्धार गरिएको हो। बालको नाम भने गोप्य राखिएको छ।
गाउँले नातामा भिनाजु पर्ने काजु चौधरीले फकाई भारतको हिमाञ्चलस्थित सिम्ला लगेर आफूलाई बेचेर गएको पीडित बालकले बताए।
भिनाजु पर्ने चौधरीले बालकलाई सिमलाभन्दा झन्डै २ सय किमी टाढा पुजार्ली गाउँमा पुर्याएका थिए।
बालकलाई भारत लखनउमा काम गर्ने एक नेपालीको सहयोगमा उद्धार गरिएको हो। जुम्लाका सामाजिक अभियन्ता अमर विष्टको टोलीले उनको उद्धार गरी नेपाल ल्याएको हो।
विष्टसँगै कञ्चनपुरका पत्रकार जुद्ध चौधरी र दिपेन्द्र बस्नेतले बालकलाई नेपाल ल्याएका हुन्। भारतमा काम गर्ने एक नेपालीसँग चिनजान भएका पत्रकार जुद्ध चौधरीले लेखेको समाचार देखेपछि बालकको उद्धारमा लागेको अमर विष्टले बताए।
आफू विगतबाटै उद्धारका काममा सक्रिय भएको जानकारी दिँदै उनले जोखिम उठाएर बालकको उद्धार गरेको बताए।
भारतमा भिनाजु नाता पर्ने काजु चौधरीले 'सँगै बसौँला र सँगै काम गरौंला' भनी फकाएर घरबाट ल्याएर आफूलाई यतै छोडेर आफू भागेको पीडित बालकले बताएका छन्।
२०७५ चैत २९ गते काजु चौधरीले भारतको हिमाञ्चल प्रदेशको सिमलामा पुर्याएर एक व्यापारी कहाँ छोडेको उनले बताए।
सिमला पुगिसकेपछी काजु चौधरीले प्रदीप भन्ने मान्छेको घरमा आफुलाई छोडेर सम्पर्कविहीन भएको बताइएको छ।
उनलाई प्रदिपको घरमा स्याउ टिप्ने र स्याउका क्रेट ओसार्ने काम गराउँदै आएका थिए। दैनिक १४ घण्टा काममा खट्नु पर्ने त्यसमाथि मालिकले कुट्ने पिट्ने र गाली गर्ने गरेको पीडित बालकले बताए।
बुवाको मृत्यु भइसकेको र आमाले अर्कै बिहे गरेका बालक मामाको घरमा बस्दै आएका थिए। मामाको घरमा बस्दै आएका उनलाई ५ महिना काजुले भारतमा बेचेको खुलेको छ।
भारतबाट उद्धार गरेको टोलीले उनलाई बालबालिकासम्बन्धी काम गर्ने संस्थाको जिम्मा लाउने तयारी गरेको छ। साथै बेच्ने काजु चौधरीका नाममा उजुरी दिने समेत तयारी भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।