काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन मिठाई पसलमा अनुगमन गरेको छ।
कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना वैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो।
टोलीले त्रिपुरेश्वरमा रहेको पशुपति फुड्स र साजन गोठ तथा सुन्धारामा शालिमार हस्पिटालिटी एन्ड फुड्स प्रलिद्धारा सञ्चालित गुलाबमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ। मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरबाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ।
अनुगमनपछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको बताइन्। उपभोक्तालाई गुणस्तरीय खाना खुवाउने व्यवसायीको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन्।
राज्यमन्त्री चौधरीले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको बताइन्।
उपभोक्ता र व्यवसायीका लागि अनुज्ञापत्र लिएर काम गर्दा राम्रो हुने सुझाव राज्यमन्त्री चौधरीको छ। एक हप्ताभित्र सुधार गर्न सबै पसल सञ्चालकलाई चौधरीले निर्देशन दिएकी छन्।
विभागकी महानिर्देशक वैद्यले सरसफाइ र गुणस्तरीयता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन्।
टोलीले परीक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ।
विश्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत् मुद्दा चलाइने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।