प्रधानमन्त्री १८ घन्टा काम गर्नुहुन्छ, हामीले सकेनौं : मन्त्री महासेठ

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १९:१२:०० मा प्रकाशित

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको लय र गतिमा अन्य मन्त्रीले काम गर्न नसकेको धारणा राखेका छन्। 

बुधबार पूर्वाधार सम्मेलनमा मन्तव्य राख्दै मन्त्री महासेठले यस्तो धारणा राखेका हुन्। 

प्रधानमन्त्रीले १८ घन्टासम्म काम गर्ने गरेको भन्दै उनले खुलेर प्रशंशा गरेका थिए।

'अहिलेको उमेरमा पनि प्रधानमन्त्री १८ घण्टा काम गरिरहनु भएको छ। हामी उहाँसँग काम गर्न सकिरहेका छैनौं,' उनले थपे 'यो सरकार उद्योग र व्यवसायमैत्री छ। तपाईंलाई कुनै अफ्ट्यारो हुँदैन।'

सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उनले भने यसको बचाउ गरे। 'हामी सरकारमा आएको २ वर्ष भएको छैन। भारत चीन होस् वा सिंगापुर ५ वर्षमा अहिलेको अवस्थामा पुगेको होइन,' उनले भने। 

दोहोरो अंकको आर्थिक वृद्धि हुने गरी सरकारले काम गरिरहेको उनको दाबी छ। 

आर्थिक विकासमा निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने उनको धारणा थियो। 'नेपाल सरकार र निजी क्षेत्र मिलेर अघि बढ्ने हो। हातेमालो गरेर अघि बढौँ। सम्पूर्ण लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आव्हान गर्छु,' मन्त्री रघुवीर महासेठले भने।