काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी सरकारले गरेको बताएका छन्।
निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भइरहेको मन्त्री यादवले जानकारी गराएका हुन्।
नेपाल एलपी ग्याँस उद्योग संघको २४औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पारे।
'जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने/थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान सरकार तयार छ,' उनले भने।
मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।