टोकियो- जापानको टोकियो नजिककैका झण्डै चार लाख २० हजार घरमा विद्युत र पानी वितरण सेवा बन्द भएको छ।
बुधबार बिहानै तुफान आएकाले बेलुकासम्म पनि विद्युत र पानी वितरण सेवा अवरुद्ध भएको विद्युत कम्पनीले जनाएको छ। छिमेकी कानाङ्वा प्रान्तमा जानी-जानी विद्युत सेवा काटेको बेला (ब्ल्याक आउट) जस्तो अनुभव भएको स्थानीयले बताएका छन्।
चिबा, टोकियो र शिजुओका प्रान्तमा गर्मी बढेर औसतमा ३० डिग्री सेल्सियस पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस क्षेत्रका २४ हजार ९ सय घरहरुमा स्थानीय समयानुसार बुधबार दिउँसो ३ बजेसम्म पानी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विद्युत सेवा नभएका बेला लु लागेर २ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा ९३ वर्षीय एक जना महिला र ६५ वर्षीय पुरुष रहेका छन्।
वातावरण ठीक नभएकै कारणले उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। वृद्ध पुरुषको मृत्यु भएको बेला उनी भएको ठाउँमा ३५ डिग्री सेल्सियस तापक्रम थियो।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका ६२ जना अस्पतालमा भर्ना भएको जनाएको छ। विद्युत सेवा कटौतीका कारण ३७ जनालाई मात्रै उपचार सेवा उपलब्ध गराउन सकिएको मन्त्रालयको भनाइ छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।