काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दाबी गरेका छन्।
आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन गर्ने कामसमेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाए।
बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एसिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालीन घटनाको उत्खनन गर्ने मानव अधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको स्मरण गराए।
भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागे पनि त्यसमा सरकारले भाँजो हालेको उनको दाबी छ।
आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हननका घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।