के होला नेपालको आठौँ फाइनल प्रतिस्पर्धा? बन्ला इतिहास?

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 १३:३०:०० मा प्रकाशित

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोली एकपटक फेरि उपाधिको नजिक छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सम्मानजनक उपस्थिति भइरहँदा उपविजेतामा सीमित नेपाल कीर्गिस्तानमा भइरहेको नादेझ्दा कपमा उज्वेकिस्तानविरुद्ध फाइनल खेल्दैछ। 

कीर्गिस्तानको काराकोलमा रहेको सेन्ट्रल स्टेडियममा फाइनल खेल नेपाली समयअनुसार बिहीबार दिउँसो पौने ४ बजे सुरु हुनेछ। 

नौँ वर्षमा आठौँ फाइनलमा प्रतिस्पर्धा गरिरहँदा नेपाली महिला टोलीलाई पहिलो उपाधिको खोजि हुनेछ।

दक्षिण एसियाली प्रतिस्पर्धामा सधैँ भारतभन्दा पछाडि पर्ने नेपालका लागि सागको तयारीका लागि खेलिएको नादेझ्दा कप जितेमा उपाधि मात्रै होइन त्यसमा ठूलो आत्मविश्वासको जित हुनेछ। 

समूह चरणको खेलमा ताजिकिस्तानविरुद्ध सावित्रा भण्डारीले खेलको ८५ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनलका लागि योग्य बनाएकी थिइन्। प्रतियोगितामा पाँचौँ गोल गर्ने क्रममा सावित्राले गीता रानाले हानेको फ्रिकिकमा हेडमार्फत गोल गरेकी थिइन्। 

पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई नै ८–२ ले हराएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो। ताजकिस्तान पहिलो खेलमा उज्वेकिस्तानसँग १२–० ले हारेको थियो। ताजकिस्तानले कीर्गिस्तानलाई भने २–१ ले हराएको थियो। यस्तै उज्वेकिस्तानले कीर्गिस्तानलाई ९–० ले हराएको थियो। 

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि कीर्गिस्तान गएको नेपाली टोलीले पाँच दिनमा नै चार खेल खेल्न लागेको हो। नेपाल, कीर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सहभागी प्रतियोगितामा शीर्ष दुई टिम उज्वेकिस्तान र नेपाल फाइनलमा पुगेका हुन्। 

समूह चरणमा नै उज्वेकिस्तानसँग नै हारेको नेपाल वरियतामा पनि पछि रहेको छ। फिफा वरियतामा नेपाल १०१ औँ र उज्वेकिस्तान ४४ औँ स्थानमा छ। यस्तै एसियाली वरियतामा हेर्ने हो भने उज्वेकिस्तान ९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा रहेको छ। 

साफ फुटबलमा चार र साग फुटबलमा दुई पटक फाइनल खेल्दा भारतसँग नै हारेको नेपाल गएको वर्ष भारतमा भएको हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग पराजित भएको थियो। त्यसबेला पहिलोपटक भारतलाई पराजित गरेर पनि नेपाल फाइनलमा हारेको थियो। 

लगातार खेल खेलिरहँदा नेपाली खेलाडीमा ‘स्टामिना’ को समस्या देखिएको छ। निरु थापा र रेखा पौडेल घाइते नै छन् भने अन्य खेलाडीले पनि शारीरिक आरामका लागि पूर्ण समय पाएका छैनन्। तीन दिनमा लगातार तीन खेल खेलेको नेपालले बुधबार एक दिन मात्रै बिश्राम गरेर बिहीबार फाइनल खेल्न लागेको हो।