काठमाडौं- कार्यकाल सकिन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलमा अध्यक्ष र महासचिवको विवाद उत्कर्षमा पुगेको छ।
अध्यक्ष जितजंग बस्नेतले भ्रष्टचारविरोधी गतिविधिलाई बेवास्ता गर्दै आएको भन्दै महासचिव भुपेन्द्रजंग शाहीले भदौ २२ मा विज्ञप्ति निकाले।
अध्यक्ष बस्नेतले सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष सगुन श्रेष्ठलाई कारबाही गरेपछि थप रुष्ट बनेका शाहीले मंगलबार विज्ञप्ति निकाल्दै श्रेष्ठको पदीय जिम्मेवारी यथावत् रहेको जनाएका छन्। ‘संगठनको विधि, विधान, मर्म र भावनाविपरीत कारबाही गरिएको’ शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
विवाद त्यतिमै रोकिएन। सप्तरीमा आधिकारिक अध्यक्षको विषयमा केन्द्रीय अध्यक्ष र महासचिवको मनमुटाव थप सतहमा आयो। सप्तरीको आधिकारिक अध्यक्ष सीताप्रसाद यादव भएको भन्दै शाहीले बुधबार विज्ञप्ति निकालेर प्रस्ट्याए।
बस्नेतले हटाउने र शाहीले थमौती गर्ने क्रममा अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन्। ‘दूषित मनसायले आफ्नो पदीय मर्यादालाई कुल्चेरै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विधान, विधि र प्रक्रिया’ मिचेको आरोप लगाइएको छ।
शाहीको पत्राचारको विधि अवैधानिक भएको बस्नेतको निष्कर्ष छ। पदीय जिम्मेवारीको परिधिमा रहन र अशिष्ट व्यवहार नगर्न शाहीलाई चेतावनी दिइएको छ। साथै, शाहीले थमौती गरेका व्यक्तिहरु अनधिकृत भएको बस्नेतले उल्लेख गरेका छन्।
सिन्धुपाल्चोकमा उपाध्यक्ष भनिएका सगुन श्रेष्ठ र सप्तरीका सीताप्रसाद यादवलाई अध्यक्ष बनाइएको शाहीको पत्राचार बदर गरिएको अध्यक्ष बस्नेतले जानकारी गराए।
अध्यक्ष पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन्।
आगामी कात्तिकमा कार्यकाल सकिने तरुण दलले हालसम्म पूर्णता पाउन सकेको छैन। ९१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मात्रै छन्। भागबण्डाको आधारमा पार्टीका गुटहरुले चार जना बाँडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।