काठमाडौं- भारत र चीनका सेनाबीच चलेको विवाद द्विपक्षीय वार्तापछि टुंगिएको छ।
भारतीय समाचार संस्था 'पिटिआई'का अनुसार द्विपक्षीय प्रतिनिधिमण्डलबीच बुधबार भएको वार्तापछि विवादको विषय टुंगिएको हो।
भारतीय संचारमाध्यमहरुमा प्रकाशित विवरणअनुसार लद्दाखमा भारत-चीन सीमा नजिक दुवै पक्षका सेनाबीच बुधबार झडप भएको थियो। झडप १ सय ३४ किलोमिटर लामो पेङगोङ तालको उत्तरी किनारामा भएको थियो। तिब्बतदेखि लद्दाखसम्म फैलिएको उक्त तालको दुई तिहाइ भाग चीनको नियन्त्रणमा छ।
उक्त क्षेत्रमा गस्तीमा रहेको भारतीय सेनालाई चिनियाँ सेनाले रोकेपछि विवाद सुरु भएको थियो। विवादका क्रममा दुवै सेनाबीच धकेलाधकेल समेत चलेको थियो। त्यो क्रम बुधबार दिनभरजसो नै चलेको थियो।
सन् २०१७ मा सिक्किम-भुटान-तिब्बतको त्रिदेशीय क्षेत्र दोक्लाममा भारत र चीनबीच झण्डै ३ महिना विवाद चलेको थियो।
विवादित क्षेत्रबाट दुवै देशका सेनापछाडि हटेपछि उक्त क्षेत्रमा जारी विवाद साम्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।