काठमाडौं- नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी खुल्ने भएको छ।
नेपाली र मलेसियाली प्राविधिक कमिटीको बैठकले हाल बन्द अवस्थामा रहेको मलेसिया रोजगारी खुलाउने निर्णय गरेको हो।
तर स्वास्थ्य परीक्षणका लागि पुरानै ३६ वटा स्वास्थ्य संस्थाहरु कायम रहने गरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल लाइभलाई बताए।
उनले भने, ‘नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठक सकिएको छ। मलेसिया र नेपालबीच भएको श्रम समझदारीको औपचारिक कार्यान्वयन हुने भएको छ। बैठकमा मलेसियाले तत्काल ३६ वटा स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने र विस्तारै नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका १ सय २२ वटा स्वास्थ्य संस्थालाई पनि क्रमबद्ध थप्दै लैजाने निर्णय भएको छ।’
सहसचिव घिमिरेका अनुसार नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका नयाँ १ सय २२ वटा स्वास्थ्य संस्थामाथि थप अनुगमनका लागि मलेसियाली टोली आउने भएको छ।
सो टोलीको अनुगमनपछि विस्तारै ती स्वास्थ्य संस्थालाई पनि थप गर्दै लगिने बताइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय अनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो।
रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए।
त्यसयता नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।