नयाँ दिल्ली- अयोध्या विवादमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका लागि बहस गर्न पुगेका मुस्लिम वकिलमाथि आक्रमण भएको छ।
वरिष्ठ अधिवक्ता राजीव धवन र उनका सहयोगीमाथि आक्रमण भएको हो। अघिल्लो साता आफूमाथि धम्की आएको भन्दै उनले सर्वोच्चमा निवेदन दायर गरेका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले धवनको सुरक्षामाथि ख्याल गर्न सरकारको नाममा नोटिस जारी गरेको थियो। तर धवनमाथि अदालत परिसरमै आक्रमण भएको हो। उनलाई आक्रमण गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा पनि धम्की आएको थियो।
आफूमाथि आक्रमण भएपछि धवनले सर्वोच्चमा यो मुद्दाको सुनुवाइका लागि अनुकूल नभएको दाबी गरे। ‘यो मुद्दा सुनुवाइका लागि अनुकूल माहोल होइन,’ उनले भने, ‘यस्ता कुरा अदालत परिसरमा हुनु दुर्भाग्य हो।’
बाबरी मस्जिद–राम मन्दिर विवादमा मुख्य निवेदनकर्ता एम सिद्दिकी र अखिल भारतीय सुन्नी वक्फ बोर्डको प्रतिनिधिको रुपमा धवनले बहस गर्दै आएका थिए।
धवनले अदालतमा भने, ‘म यहाँ स्पस्ट पार्न चाहान्छु कि म कसैको पक्षपात लिने छैन। म निश्चित रुपमा हिन्दु विश्वासको विरुद्धमा बहस गर्न यहाँ आएको होइन।’
उनको यो भनाइपछि प्रधानन्यायाधीश रञ्जन गोगोईसहितको संवैधानिक इजलासले यसलाई रेकर्डमा लिने भन्दै हुन नहुने व्यवहार प्रदर्शन भएको टिप्पणी गरेको छ।
सर्वोच्चले दुवै पक्षका कानुन व्यवसायीहरुलाई स्वतन्त्रापूर्वक आफ्नो पक्षको बचाउमा तर्क राख्ने अधिकार भएको र यस्ता सानातिना समस्या आउनेसमेत सर्वोच्चले भनेको छ। यस्ता घटनाहरुको कडा रुपमा निन्दा गर्नेसमेत सर्वोच्चको भनाइ छ।
प्रधानन्यायाधीश गोगोई संलग्न भएको इजलासमा न्यायाधीश एसए बोबडे, डिआई चन्द्रचुड, अशोक भुषण र एसए नजीर सहभागी छन्। यो इजलासमा मुद्दाको सुनुवाइ २२औं दिनमा चलिरहेको छ। २.७७ एक्कड जमिनको विावदमा ७० वर्षदेखि एकपछि अर्को अदालतमा मुद्दा चलिरहेको छ।
पछिल्लो पटक सेप्टेम्बर ३०, २०१० मा यस विवादमा फैसला आएको थियो। इलाहाबाद हाइकोर्टले विवादित जमिन तीन भागमा विभाजन हुने फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध हिन्दु र मुस्लिम पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उक्त निवेदनमा सर्वोच्चले मध्यस्थताबाट टुंग्याउने प्रयास पनि गरेको थियो।
धार्मीक गुरु श्री श्री रविशंकरको नेतृत्वमा गठन भएको मध्यस्थता समितिले विवाद समाधान गर्न नसकेपछि सर्वोच्चमा फेरि यसको सुनुवाइ सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।