काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विश्वविद्यालयका पदाधिकारी राजनीतिक भागबन्डामा गरिने पद्धतिप्रति आपत्ति जनाएका छन्।
नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले राजधानीमा गरेको ‘विश्वविद्यालय र दलीय भागबन्डा’ विषयक बहसमा बोल्दै नेता केसीले प्राज्ञिक थलोलाई निष्पक्ष बनाउनुपर्ने बताए।
दलीय भागबन्डामा पदाधिकारी चयन गर्ने प्रवृत्ति २०६२ पछि उच्चतम बढेको बताए।
वर्तमान सरकारले बौद्धिक व्यक्तिलाई दुश्मन ठानेको आरोप लगाउँदै उनले भने, ‘शिक्षा क्षेत्रमा निष्पक्ष व्यक्ति छन्। उनीहरुलाई विश्वविद्यालयको नेतृत्व दिऔं।’
राजनीतिक क्षेत्रबाट शिक्षा क्षेत्र मुक्त बनाउनु पर्ने उनको राय थियो।
राजनीतिकरणले शिक्षा क्षेत्रको क्षयीकरण भएको उनको भनाइ थियो। अनुसन्धानको थलो विश्वविद्यालयलाई उचित ध्यान दिन राजनीतिक दल चुकेको उनले स्वीकारेका थिए।
केसीले भने, ‘विश्वमा बजेट बनाउँदा विश्वविद्यालयले गर्ने अनुसन्धानलाई बजेट छुट्याइन्छ। विभागीय प्रमुखसँग आवश्यक सल्लाह गरिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।