काठमाडौं- संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट समयमा हुन नसकेको विषयमा छलफल गर्ने भएको छ।
सिसडोलवासीले यसै महिनाको अन्तिमसम्म सिसडोलमा फोहोर फाल्न समय दिएका छन्। भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायसँग परामर्श गर्न लागेको हो।
केही दिनअघि समितिको स्थलगत अनुगमन टोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पूर्वाधार निर्माण र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए।
समितिले सिसडोलवासी र बञ्चरेडाँडामा निर्माणधिन ल्यान्डफिल साइटको समस्या समाधानका लागि सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाडौं महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो।
समितिको बिहीबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेशकुमार पहाडी, बिनाकुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्न नहुने राय राखे। सहमति अनुसारको पूर्वाधार निर्माण र क्षतिपूर्ति उपलब्ध गराउन सांसदहरुले माग गरे।
२०५१ सालमा बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्ने स्थानको पहिचान भए पनि निर्माण हुन नसक्दा सिसडोलमा फालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।