नादेझ्दा कपको उपाधि उज्वेकिस्तानलाई, नेपाल पराजित

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 १७:३६:०० मा प्रकाशित

काठमाडौं- नादेझ्दा कपमा नेपाल पराजित भएको छ। कीर्गिस्तानको काराकोलमा रहेको सेन्ट्रल स्टेडियमा नेपाल र उज्वेकिस्तानबीच भएको फाइनल खेलमा नेपाल ३-२ गोल अन्तरले पराजित भएको हो। 

पहिलो हाफमै १–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि मैदानमा जम्न सकेन। दोस्रो हाफमा नेपालका तर्फबाट सावित्रा भण्डारीले २ गोल गरे पनि हार टर्न भने सकेन। उज्वेकिस्तानले पनि दोस्रो हाफमा २ गोल थप्यो।

यसअघि समूह चरणको खेलमा ताजिकिस्तानविरुद्ध सावित्रा भण्डारीले खेलको ८५ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनलका लागि योग्य बनाएकी थिइन्।  

पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई नै ८-२ ले हराएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० ले पराजित भएको थियो। ताजकिस्तान पहिलो खेलमा उज्वेकिस्तानसँग १२-० ले हारेको थियो। ताजकिस्तानले कीर्गिस्तानलाई भने २-१ ले हराएको थियो। यस्तै उज्वेकिस्तानले कीर्गिस्तानलाई ९-० ले हराएको थियो। 

समूह चरणमा नै उज्वेकिस्तानसँग नै हारेको नेपाल वरीयतामा पनि पछि रहेको छ। फिफा वरीयतामा नेपाल १०१ औँ र उज्वेकिस्तान ४४ औँ स्थानमा छ। यस्तै एसियाली वरीयतामा हेर्ने हो भने उज्वेकिस्तान ९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा रहेको छ। 

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि कीर्गिस्तान गएको नेपाली टोलीले पाँच दिनमा नै चार खेल खेलेको हो।

गोलको कीर्तिमानमा सावित्राको बराबरी

उज्वेकिस्तानविरुद्ध फाइनलमा २ गोल गरेकी फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानमा बराबरी गरेकी छिन्। अनु लामाको ३५ गोलको कीर्तिमानमा सावित्राले बराबरी गरेकी हुन्।

उनले राष्ट्रिय टोलीका लागि ३७ खेल खेल्दै ३५ गोल गरेकी छिन्। नादेझ्दा कपमा उनले ७ गोल गरिन्।