काठमाडौं- पूर्व अर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्ने बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धतl र शैलीमा परिवर्तन आवश्यक रहेको बताए।
निजी क्षेत्रलाई कानूनद्धारा नै सुविधा दिइने नीतिको आवश्यकता रहेको महतले उल्लेख गरे।
‘एउटा पदमा रहेको व्यक्तिले मनलाग्दी सुविधा दिने वा नदिने निर्णय गर्दा त्यसले निजी क्षेत्रको विश्वास जगाउँदैन,' उनले भने, 'कानुनले नै कसलाई कसरी सुविधा दिने भन्ने कुरा स्पष्ट हुनुपर्छ।' पूर्वाधारका लागि के सम्भावना छ भन्नेबारे गहिरो अध्ययनको आवश्यकता रहेको उनले बताए।
‘योजना एकातिर, सम्भावना अर्कोतिर र बोली अन्यत्रतिर हुनु हुदैन,’ उनले भने, ‘जबकि अहिले चीनबाट रेल ल्याउने विषयमा त्यस्तै भइरहेको छ ’ उनले नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिए। विश्व वैंकको प्रतिवेदनलाई उदृत गर्दै पूर्व अर्थमन्त्री महतले नेपालका सडक संसारमै गुणस्तरहीन हुने गरेको बताए।
उनले नेपालमा उर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने उल्लेख गरे। स्वच्छ ऊर्जाको उल्लेख्य माग रहेको बताउँदै महतले नेपालको बढ्दो व्यापार घाटा ऊर्जाबाट पूर्ति गर्न सकिने बताए।
यही सत्रमा बोल्दै नेपाल उद्योग परिसंघका प्रेसिडेण्ट इमिरेटस् तथा उद्यमी विनोद चौधरीले दशकौँको उत्पीडनपछि देशमा आएको परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको बताए।
सन् १९९२ यता नेपालमा निजी क्षेत्रको सक्रियता वृद्धि हुदै गएको भन्दै चौधरीले खुला अर्थतन्त्र र उदारीकरणको लागि पूर्व अर्थमन्त्री डा. महत योजनाकारका रुपमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।