अग्रिम टिकट बुकिङ असोज ५ देखि, नयाँ बस नथपिने

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 २०:११:०० मा प्रकाशित

काठमाडौं- दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीहरु सहमत भएका छन्। बिहीबार यातायात व्यवस्था विभागमा सरोकारवालाहरु सहितको बैठकले असोज ५ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो। 

विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्ता अधिकारकर्मीलगायतका सरोकारवाला निकायको बैठकले असोज ५ गतेबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको विभागले जनाएको छ। 

व्यवसायीले दबाब दिएपनि विभागले चाडपर्वमा सार्वजनिक सवारीको भाडा बढाउन नसक्ने जवाफ दिएको थियो। व्यवसायीहरु पुरानै भाडामा दसैंको टिकट बुकिङ खोल्न सहमत भएका हुन्। गत वर्ष १० प्रतिशत भाडादर बढाएर मात्रै बुकिङ खुल्ला गर्न सहमत भएका थिए। यो वर्ष भने भाडादर नबढ्ने यातायात व्यवस्था विभागले जनाएको छ। 

दसैं मनाउन उपत्यकाबाट २० लाखभन्दा मानिस बाहिरिने गरेको आँकलन गरिएको छ। असोज ५ गतेदेखि औपचारिक रुपमा अग्रिम टिकट बुकिङ खोल्न महासंघ तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। 

‘असोज १२ गतेदेखि यो वर्षको दसैं सुरु हुँदै छ,’ उनले भने, 'यात्रुको सुविधाका लागि महासंघले आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्नेछ।’ यो वर्ष विविध कारणले व्यवसायीहरुले नयाँ बस थप्ने अवस्था नरहेकाले भएका बस अधिकतम प्रयोग गरेर यात्रुलाई अन्तव्यसम्म पुर्‍याउन महासंघ तयार रहेको उनको भनाइ छ।

व्यवसायीहरुले वर्षायाम तथा अन्य कारणले बिग्रिएका सडक समयमै मर्मत गर्न सरकारलाई आग्रह गरेको छन्। त्यस्तै विभागले टिकट बुकिङमा अनियमितता नहोस् र यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष तथा अनुगनमलाई तिब्रता दिने जनाएको छ।