काठमाडौं- धरहरा पुनर्निर्माणको २६ प्रतिशत भौतिक प्रगति भएको छ।
पुनर्निर्माण प्राधिकरणमा बिहीबार भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ रमन महतोले २६ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका हुन्।
धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ। त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ।
समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए। त्यसक्रममा उहाँले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिएका थिए।
समीक्षामा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, निमित्त सचिवलगायतको उपस्थिति थियो।
यसैबीच, दशैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ। सञ्चय कोष र साविकको गोश्वारा हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ। खिचापोखरीदेखि तेबहालसम्म बाटो भने खुलिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।