जनकपुर- बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सांसद दिलिप कुमार साह फरार भएका छन्। धनुषा जिल्ला अदालतले प्रदेश २ का सांसद साहलाई दोषी भएको भन्दै फैसला गरेपछि फरार भएका हुन्।
अदालतले बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरेलगत्तै निलम्बनमा परिसकेका सांसद साह फरार भएका हुन्। धनुषा प्रहरीले उनको खोजीलाई तीव्र बनाएको बताएको छ।
जिल्ला अदालत धनुषाबाट ४ वर्षअघि भएको फैसला जनकपुर उच्च अदालतले सदर गरेपछि प्रदेशसभाले सांसद साहलाई सांसदबाट निलम्बन गरेको थियो। सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई जिल्ला अदालतले २०७२ जेठ १३ गते १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला सुनाएको थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध साह उच्च अदालत पुगेका थिए। उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेपछि सांसद साहले कैद र जरिवाना भुक्तान गर्नुपर्ने भएको छ।
संगीता यादवको जाहेरीको आधारमा सांसद साहलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो।
घरमा पत्नी हुँदाहुँदै सम्बन्धविच्छेद नगरी दोश्रो विवाह गरेको भन्दै उनलाई जिल्ला अदालतका तत्कालीन न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो।
फैसलाप्रति चित्त नबुझेर पुनरावलोकन गर्न उच्च अदालत जनकपुर पुगेका सांसद साहलाई उच्च अदालतले पनि दोषी नै ठहर गरेको हो।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलासले २०७६ असार २५ गते जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो।
‘पहिलो श्रीमती संगीतादेवी यादव र उनका २ सन्तान हुँदाहुँदै सम्बन्धविच्छेद नगरिकनै जानकी कुमारी साहसँग अर्को बिहे गरेको कारण साहले बहुविवाह कसूर गरेको मानिन्छ,’ उच्च अदालतले गरेको फैसलामा भनिएको छ, ‘तसर्थ सुरूको धनुषा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ।’
जिल्ला अदालतले फैसला गर्दा दोश्री पत्नी जानकी साहलाई भने सफाई दिएको थियो। उच्चले पनि उनलाई सफाई दिएको छ। जानकी साहले जानीजानी विवाह गरेको भन्ने वादीको दाबी पुष्टि हुने गरी स्वतन्त्र तथा विश्वसनीय प्रमाण पेस गर्न नसकेकाले जानकी साहलाई दुवै अदालतले सफाई दिएको हो।
२०७० फागुन २ गते पक्राउ परेका साहलाई २०७० फागुन २६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाइएको थियो। पछि थुनछेकआदेश विरुद्ध उच्च अदालतमा पुनरावलोकन गरेका साह २०७१ जेठ २९ गते ४५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका थिए।
उनले ३ महिना २७ दिन कैद सजाय काटेको भएपनि बाँकी ८ महिना ३ दिन सजाय बेरुजु नै देखिन्छ। तसर्थ बेरुजु कैद लगत कसी असूल उपर गर्न धनुषा जिल्ला अदालतले फैसला गरेको थियो। फैसला अनुसार २०७२ साउन १३ गते अदालतमा लगत समेत कसिएको थियो।
जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न लगत कसेर प्रदेश २ प्रदेशसभा सचिवालयलाई फैसलाको प्रतिलिपिसहित लिखित पत्रमार्फत नै जानकारी गराइसकेको छ।
२०७६ भदौ ४ गते धनुषा जिल्ला अदालतका तहसिलदार भिष्म भट्टराईले प्रदेश सचिवालयलाई पत्रमार्फत जानकारी गराएका हुन्।
सांसद साह हालको नेकपा स्थायी कमिटी सदस्य तथा बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका ज्वाइँ हुन्। साह तत्कालीन माओवादी केन्द्रबाट टिकट पाएर सिरहा ४(क)बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
२०५७ वैशाख २ गते मन्त्री यादवकी छोरी संगीता यादवसँग साहको विवाह भएको थियो। दुवै परिवारको उपस्थितिमा उनीहरूबीच अन्तरजातीय विवाह भएको थियो।
विवाहपछि उनीहरुका २ छोरा भए। २ सन्तान हुँदाहुँदै पछि साहले धनुषाको शान्तिपुरकी जानकी कुमारी साहसँग २०७० माघ १ गते विवाह गरे। आफू पत्नी छँदाछँदै अर्को विवाह गरेपछि संगीताले धनुषा जिल्ला अदालतमा साहविरुद्ध बहुविवाह कसूर अन्तर्गत कानून बमोजिम कारबाही गरी पाउँ भन्दै मुद्दा दर्ता गराएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।