काठमाडौं- अमेरिकाले अघि सारेको हिन्द-प्रशान्त रणनीति (इन्डो-प्यासिफिक स्ट्राटेजी) बारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिबारे अमेरिकी राजदूत र परराष्ट्र सचिवबीच छलफल भएको छ।
प्रचण्डको अभिव्यक्तिबारे चीनले सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर बिहीबार अमेरिकी राजदूत र्यान्डी बेरीले परराष्ट्र सचिव शंकरदास वैरागीसँग भेट गरेका हुन्। अमेरिकी राजदूत बेरी बिहान ११ बजे मन्त्रालयमै पुगी सचिव वैरागीसँग भेट गर्दै विज्ञप्तिमा आएको प्रचण्डको धारणाबारे चासो रोखका थिए।
वैरागीसँग बेरीको भेटको परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावास स्रोत दुवैले पुष्टि गर्यो तर छलफलको विषयबारे भने उल्लेख गर्न चाहेनन्।
परराष्ट्र मन्त्रालयले भने राजदूत बेरीसँगको भेटलाई नियमित भनेको छ। अमेरिकी अधिकारीको नेपालमा हुने लागेको भ्रमणबारे छलफल गर्न बेरी मन्त्रालय आएको परराष्ट्र मन्त्रालयको दाबी छ।
अमेरिकी दूतवासकी प्रवक्ता एन्डी डे अर्मेन्टले मन्त्रालयले भनेझैं पूर्वनिर्धारित कार्यक्रमअनुरूप नै भेटवार्ता भएको र त्यसमा पछिल्ला विषयबारे पनि छलफल भएको बताइन्।
नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएको केही समयपछि चिनियाँ विदेश मन्त्रालयले प्रचण्डसँग वाङको भेटबारे विज्ञप्ति जारी गरेको थियो।
विज्ञप्तिमा वाङसँगको भेटमा प्रचण्डले ‘इन्डो प्यासिफिक रणनीतिलाई नेपालले अस्विकार गर्ने’ बताएको उल्लेख गरेको छ।
प्रचण्डसँगको भेटबारे बेइजिङले जारी गरेको विज्ञप्तिमा अमेरिकाले चासो बढाएपछि यो विषयले संसदमा समेत प्रवेश पाएको छ। सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले बिहीबार प्रतिनिधिसभामा विशेष समयमा यसबारे कुरा उठाएकी थिइन्।
नेपाल असंलग्न राष्ट्र रहेकाले कुनै पनि रणनीतिक साझेदारीमा संलग्न नहुने भन्दै भुसालले यसै विषयमा प्रचण्डले राखेको धारणाबारे अमेरिकाले सोधखोज गरेको बारे सरकारले स्पस्ट पार्नुपर्ने बताएकी थिइन्।
‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिका पक्षमा रहेको बताउनुभयो,’ उनले भनिन्, ‘अहिले चर्चामा रहेको इन्डो प्यासिफिकमा नेपाल नरहेको भनेको कुरालाई अमेरिकन राजदूतावासले नेपाल सरकारससँग स्पष्टीकरण माग्दैछ भनेर बाहिर आएको छ। योबारे के हो? नेपाल सरकारले भन्न जरुरी छ।’
भुसालले इन्डो प्यासिफिक रणनीति अन्तर्गत नै अमेरिकी दूतावासले सरकारसँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको खुलासा गर्दै त्यसलाई अस्विकार गर्न माग गरिन्।
उनले अगस्ट २३ मा अमेरिकी दूतावासले सरकारलाई लेख्दै नोभेम्बरमा ४ देखि १५ सम्म सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुई वटा प्रशिक्षण कार्यक्रम प्रस्ताव गरेको जानकारी गराइन्। उनका अनुसार ‘एउटा हाई अल्टिच्युड’का नाममा अन्नपूर्ण क्षेत्रमा र अर्को ‘स्वीफ्ट वाटर रेस्क्यु’का नाममा कुरिनटारमा राख्ने भन्ने जानकारी आएको छ।
अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक रणनीति’अन्तर्गत नेपालसँग रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ।
अमेरिकी रक्षा मन्त्रालयले १८ जेठमा सार्वजनिक गरेको सार्वजनिक गरेको ‘इन्डो-प्यासिफिक रणनीति प्रतिवेदन २०१९’ मा नेपालसँग रक्षा सहकार्य विस्तार गर्ने उल्लेख छ।
उक्त प्रतिवदेनमा अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्न लागेको उल्लेख गरेको छ। यीमध्ये १२ वटा इन्डो-प्यासेफिक क्षेत्रमा हुनेछ। ती १२ देशमा नेपाल पनि रहेको छ।
यसैबीच सरकारका प्रवक्ताले पनि यसबारे धारणा सार्वजनिक गरेका छन्। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले इन्डो–प्यासिफिक रणनीति लगायतका विषयमा नेपालको धारणामा कुनै परिवर्तन नआएको बताए।
बाँस्कोटाले छिमेकी र अरू मित्रराष्ट्रसँग स्वतन्त्र मुलुकको हैसियतमा नेपालले सचेत व्यवहार गर्ने बताए।
‘म यति मात्र भन्न चाहन्छु, इन्डो–प्यासिफिक, बिआरआई वा अरू जुनसुकै विषयमा पनि स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी र अरू मित्रराष्ट्रसँग आपसी हितबारे सचेत व्यवहार गर्छौं, गर्दै आएका छौं,’ प्रवक्ता बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हाम्रा पुर्खाहरूको पूर्ववत् मान्यतामा कुनै विचलन आएको छैन, परिवर्तन आएको छैन। त्यसैले यस विषयमा मैले बताउनुपर्ने कुरा यत्ति हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।