रोल्पा- अविरल वर्षासँगै गएराति आएको पहिरोमा परी रोल्पाको थवाङ गाउँपालिका-२ छेर्लोवाङमा २ जनाको शव मृत्यु भएको छ। पहिरोमा परी पुरिएका ६ जना मध्ये २ जनाको शव फेला परेको हो।
पहिरोमा पुरिएकी २८ वर्षिया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा मगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। पहिरोमा पुरिएका थप ४ जनाको उद्धार भइरहेको उनले बताए।
इलाका प्रहरी कार्यालय थवाङको एक टोली उद्धारको काम गरिरहेको बताइएको छ। उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थवाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाट समेत थप प्रहरी घटनास्थलतर्फ लागेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष लक्ष्मण ढकालले जानकारी दिए।
पहिरोमा परी २ वटा घर र केही गोठ पनि पुरिएको बताइएको छ। पहिरोमा गाई, भेडा, बाख्राहरु पुरिएको हुन सक्ने स्थानीय अजय घर्तीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।