काठमाडौं- सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
तामाङ्गले पुलिसका सुनिल जोशीलाई २१–१०, २१–१३ ले पराजित गरे। अब उनले फाइनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन्। नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११, २१–१५ ले पाखा लगाए।
यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६, २१–१६ को जित निकाले। सेमिफाइनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुने भएको छ। विकासले पुलिसका जीवन आचार्यमाथि २१–७, १८–२१, २१–११ को जित निकाले।
पुरुष एकल खुल्लातर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६–२१, २१–७, २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए। अब उनले सेमिफाइनलमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन्। प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६–२४, २१–१९ ले पराजित गरे।
यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन्। रानाले पुलिसका पूर्णबहादुर थापालाई २१–१६, २१–१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१–१५, २१–१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।