बैंकक- लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा ३ दिने न्युज फेस्टिभल हुने भएको छ।
लुम्बिनी प्रेस क्लबको आयोजनमा हुने फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तराष्ट्रिय मिडियाका प्रतिनिधिको सहभागितामा फेस्टिभल हुन लागेको हो।
समग्र नेपाल तथा लुम्बिनीमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गर्न थाइल्यान्ड पुगेको क्लबको १८ सदस्यीय टोलीको बैठकले आगमी मंसिर १, २ र ३ गते लुम्बिनीमा फेस्टिभल गर्ने निर्णय गरेको क्लबका अध्यक्ष दिपेश पछाईले बताए।
प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेका बेला ४ दिवसीय पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि थाइल्यान्ड आइपुगेको हो। लुम्बिनी भ्रमण गर्ने विदेशीमा थाइहरुको संख्या उल्लेख्य रहेको र थप पर्यटक आकर्षण गर्न प्रवर्द्धनात्मक कार्यक्रम गरिएको क्लबले जानकारी दिएको छ।
फेस्टिभलमा 'मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कला विषयमा नेपालमा अग्रज पत्रकार/सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसका साथै कार्यक्रमले पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास गरिएको अध्यक्ष पिछाईले बताए।
नेपालमै पहिलो पटक बुद्धभूमि लुम्बिनीमा हुने न्युज फेस्टिभलले समग्र पत्रकारिता र लुम्बिनीको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने क्लबका सदस्य दिपेन्द्र बडुवालले बताए।
बैठकले क्लबका अध्यक्ष पछाईको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति र सल्लाहकार कमल रायमाझी संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।