ब्याडमिन्टनमा राष्ट्रिय च्याम्पियन रशिला तीन उपाधी नजिक

पुरुषतर्फ दिपेश र रत्नजित फाइनलमा
नेपाल लाइभ | २०७६ भदौ २७ शुक्रबार | Friday, September 13, 2019 १७:४८:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा तीन उपाधीनजिक पुगेकी छिन्।  

नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन महिला एकल, महिला युगल र यु १७ गरी तीन विधाको उपाधी निकट पुगेकी हुन्। 

सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङ्गलाई २१–१७, १८–२१, २१–१३ ले तथा छात्रा यु १७ तर्फ राजधानी युथ क्लब मोरङ्गकी रोज पाण्डेलाई २१–९, २१–१६ ले पन्छाउँदै उपाधी निकट पुगेकी हुन्। महर्जनले उपाधीका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङ्गशल देवी तामाङ्गसँग प्रतिस्पर्धा गर्ने छिन्। 

रशिला अघिल्लो संस्करणमा सेनाबाट प्रतिनिधित्व गरेकी तामाङ्गसँग नै पराजित भएकी थिइन्। अहिले भोजपुरबाट खेलेकी तामाङ्गले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१–१७, २१–१२ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन्।  

यसैगरी महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्टसँग मिलेर बाँकेकी सम्झना शर्मा र मोरङ्गकी सिमा राजबंशीको जोडीलाई २१–१५, २१–१७ ले पराजित गर्दै फाइनलमा एपिएफका जेशिका गुरुङ्ग र पुजा श्रेष्ठको जोडीसँगको भेट पक्का गरिन्।

जेशिका र पुजाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१५, ११–२१, २१–१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। 

यु १७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छिन्। रशिलाले राजधानी युग क्लब, मोरङ्गकी रोज पाण्डेलाई २१–९, २१–१६ ले तथा राजबंशीले सेनाकी रञ्जना भट्टलाई १६–२१, २१–१६, २१–१४ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।

पुरुषतर्फ दिपेश र रत्नजित फाइनलमा
इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको खेलमा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१–१२, २१–१४ ले पन्छाउँदै फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्गसँगको भेट पक्का गरे। 

अघिल्ला सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१–१४, २१–१९ को जित निकाले। 

यसैगरि दिपेश र रत्न युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन्। युगलतर्फ दिपेशले विजित थापा मगरसँग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१–१५, २१–१७ ले पन्छाए। यस्तै रत्नले नविन श्रेष्ठसँग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१५, २४–२२ को कठिन जित निकाले। 

पुरुष खुल्लातर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाईनल प्रवेश गरेका छन्। पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९–२१, २१–११, २१–१८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२–२०, २१–१८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। 

अन्य नतिजा के के?
महिला खुल्लातर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्का फाइनल प्रवेश गरेकी छिन्। खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२–२०, १३–२१, २१–१७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवासँगको भेट पक्का गरेकी हुन्। देउवाले जेष्टकी सफी खत्रीलाई २१–१६, २१– १० ले पाखा लगाइन्।

छात्र यु १७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सु सिंह क्षेत्री भिड्ने भएका छन्। चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१–१०, २१–१८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङ्गलाई २१–१५, २१–१९ ले पराजित गरे।

भेट्रान्स जोडीतर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाइनल प्रवेश गरे। प्रधान र श्रेष्ठको जोडीले इलामका दर्शन भक्तराज र संजय भक्तराजको जोडीलाई २१–१४, २१–१० ले पन्छाए। यस्तै अर्को खेलमा पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यको जोडीले सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीलाई २२–२०, १९–२१, २१–६ ले पराजित गर्दै फाइनलमा प्रधान र श्रेष्ठको जोडीसँगको भेट पक्का गरको हो।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ७ बजेबाट हुने प्रतियोगिता रेफ्री उदय अर्यालले जनाएका छन्।