पुनर्निर्माण सकिएका सिन्धुपाल्चोकका ५ सरकारी भवन हस्तान्तरण

विजय नेपाल | २०७६ भदौ २७ शुक्रबार | Friday, September 13, 2019 १८:१०:०० मा प्रकाशित

सिन्धुपाल्चोक- भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकका पुनर्निर्माण सम्पन्न भएको पाँच वटा सरकारी भवन सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको छ।

डिभिजन वन कार्यालय, चौताराको प्राङ्गणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले एक कार्यक्रमबीच ती भवन शुक्रबार हस्तान्तरण गरेका हुन्।

जिल्ला आयोजना कार्यान्वायन इकाइ (भवन) ले निर्माणको जिम्मा लिएको १६ वटा सरकारी भवनमध्ये पाँच वटाको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका भवनमा डिभिजन वन कार्यालय एनेक्स भवन, मालपोत कार्यालयको एनेक्स भवन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र र प्रमुख जिल्ला अधिकारीको आवास भवन रहेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक ज्ञवालीले जिल्लामा सरकारी भवनका साथै निजी निवास निर्माणमा समेत देखिएको उत्साह देख्न पाँउदा आफू धेरै खुसी भएको बताए। नवनिर्मीत कार्यालय निर्माण गर्दा भूकम्पबाट डराउनु नपर्ने गरी निर्माण गरिएकाले भवनबाट सेवा प्रवाह गर्दा ढुक्कका साथ काय गर्न सकिने ज्ञवालीले बताए।

‘नवनिर्मित भवनबाट जनताले छिटो र छरीतो रुपमा सेवा पाएमा मात्रै जनताले सो कार्यालयलाई आफ्नै कार्यालयको रुपमा अपनत्व गर्न पाउँछन्,’ प्रमुख कार्यकारी निर्देशक ज्ञवालीले भने, 'यी भवनहरु जनताका लागि नै निर्माण भएकोले गुणस्तरीय सेवा प्रदान गरेर मात्रै जनतालाई कार्यलयले अपनत्व बोध गराउन सक्दछ।’

कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको सिन्धुपाल्चोकमा विभिन्न राजनीतिक उतारचढावका कारण पुनर्निर्माणमा ढिलाइ भएको भन्दै स्थिर राजनीति भएको भए योभन्दा अगाडि नै पुननिर्माण सम्पन्न भइसक्ने थियो भन्ने विचार व्यक्त गरे।

‘हामी सिन्धुपाल्चोकलाई भूकम्प पर्यटनबाट नै समृद्ध बनाउने सोचमा छौं,’ सांसद सापकोटाले भने, 'त्यसका लागि हामी चौतारामा भूकम्प स्मृति पार्क निर्माण गरिरहेका छौं।’ पार्क निर्माणका लागि आवश्यक बजेटको लागि आफूले पहल गर्ने सांसद सापकोटाले वचनबद्धता गरे। 

सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का सांसद शेरबहादुर तामाङले भने हामीहरु एक सय वर्ष मात्रै टिक्ने कंक्रिटको आवास निर्माणमा मात्रै केन्द्रित भएकोमा दु;ख व्यक्त गर्दै अब भने पाँच वर्षभन्दा वढी टिक्ने स्टिल स्कार्ब्सको भवन निर्माणतर्फ केन्द्रित हुनुपर्ने धारण व्यक्त गरे। 

जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार जिल्लामा १७ वटा सरकारी भवनमध्ये ६ वटाको निर्माण सम्पन्न भएको र १० वटा निर्माणको चरणमा रहेको छ।

जिल्ला हुलाक कार्यालयको भवनको डिपिआर सकिएर टेन्डरको प्रक्रियामा जान लागेको छ। भवनले जिम्मा लिएका तीन वटा स्वास्थ्य चौकीमध्ये पाँचपोखरी थाङ्पाल गाउँपालिका, बरुवाको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाको सानोसिरुवारी र मेलम्ची नगरपालिकाको बाँसबारीमा स्वास्थ्य संस्था भवन निर्माण कार्य सुरु भएको छ।