डडेल्धुरा- नेपाल-भारत सीमा नाका बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि सरकारलाई दबाब दिन स्थानीय ६ दिनदेखि अनसनरत छन्।
जिल्ला प्रशासन कार्यालयअगाडि भदौ २२ गतेदेखि अनसन जारी छ। दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनसन जारी रहेको छ।
'झुलाघाटमा पुल नहुँदा सुदूरपश्चिका पहाडी जिल्लाहरुको आर्थिक विकासमा बाधा पुगेकोले पुल बन्नुपर्छ,' पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने, ‘कांग्रेस सरकारमा भएको बेला झुलाघाटमा पुल बन्ने भनेर भारतसँग नीतिगत सहमति भएकोले उक्त सहमति कार्यान्वयन हुनुपर्छ।’
अनसनमा नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर बैतडी आएका पुष्प शाहको उपस्थिति थियो।
६ दिनदेखि जारी अनसनमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, विभिन्न गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ, रेडक्रस, राजनीतिक दल लगायतको समर्थन रहेको छ।
झुलाघाटमा पक्की पुल बनाउनका लागि सबै दलका शीर्षस्थ नेताहरुले आश्वासन दिए पनि अहिले सम्म पूरा नभएकाले आफूहरु आन्दोलनमा उत्रेको स्थानीयले बताएका छन्।
झुलाघाटमा पक्की पुल नहुँदा यो क्षेत्रको धार्मिक पर्यटनमा समेत व्यापक असर परेको र यहाँ उत्पादित वस्तुहरु निर्यात गर्न नसकिएको संघर्ष समितिले जनाएको छ।
झुलाघाट नाका पुरानो नाका भएकाले यो नाकाको सुधार भएमात्रै यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। २०५९ सालमा १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म सुनुवाइ नभएको बताइएको छ। यसका साथै मोटरेवल पुल निर्माणको लागि २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।