प्रहरीलाई नै 'मार्छु' भनेर धम्की दिने को हुन् साजन?

नारायण अधिकारी | २०७६ भदौ २७ शुक्रबार | Friday, September 13, 2019 १८:३६:०० मा प्रकाशित

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले गुन्डागर्दीमा संलग्न रहेका साजन गुरुङलाई गोली हानेर नियन्त्रणमा लिएको छ। 

धादिङ सेमजोङ—७ घरका व्यक्ति हुन् साजन। उनले २०७० माघ २४ गते नुवाकोटको साबिक सामरी गाविस ९ का पहलमान तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको थियो। 

उनले व्यवसायीसँग रकम माग्ने, धम्क्याउनेसमेत गरेको प्रहरीले जनाएको छ। उनी संगठित रुपमा गुन्डागर्दीमा लागेर र प्रहरीमाथि नै आक्रमणको योजना बनाएको प्रहरीले दाबी गरेको छ। 

उनी जेलमा रहेका अर्का गुन्डा नाइके समीरमान बस्नेतको पनि सहयोगी भएको महनगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनले क्रसरहरुबाट पनि रकम असुल्दै आएको प्रहरीले जनाएको छ।

पहलमानको हत्या आरोपमा २०७२ सालमा न्युरोडको खिचापोखरीबाट हालका आइजी सर्वेन्द्र खनालले उनलाई पक्राउ गरेका थिए।

सर्वेन्द्र खनाल त्यसबेला अपराध महाशाखाका एसएसपी थिए। खनालकाे टाेलीले पक्राउ गरेकाे भन्दै साजनले आइजी खनाललाई समेत मार्ने धम्की दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

कर्तव्य ज्यान मुद्दामा जिल्लाबाट कैद सजाय पाएका साजनले पुनरावेदन अदालतबाट सफाइ पाएर छुटेका थिए। पुनरावेदनबाट सफाइ पाएपछि उनीविरुद्धको मुद्दा सर्वोच्चसम्म पुगेको थियो। सर्वोच्चमा उक्त मुद्दा विचाराधीन छ।

काठमाडौंको गोलढुंगामा गोली हानी आज प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो।

गुरूङले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको थियो। खुट्टामा गोली लागेका उनी घाइते छन्।

गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। 

घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद गरेको छ।