मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

नेपाल लाइभ | २०७६ भदौ २७ शुक्रबार | Friday, September 13, 2019 १८:५९:०० मा प्रकाशित

हुम्डे, मनाङ- मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ। गण्डकी प्रदेशको पहलमा शुक्रबार विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो। प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभा सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए। 

वि.स. २०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो। विमान पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सबैको सहयोग जरुरी रहेको बताए। प्रदेश सरकारको तर्फबाट नियमित उडानका लागि सबै खोले सहयोग समेत हुने उनले वाचा गरे । 

असोज १० गते हुने अन्तराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थलमा नियमित उडान गराउने प्रदेश सरकारको तयारी छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले यसको लागि प्रदेशले योजना बनाइरहको बताए। उनले पर्यटनसँग सम्वन्धित निकायसँग मिलेर मनाङ प्याकेजको बारेमा समेत आफूहरुले सोचिरहेको बताए। विमानस्थलमा थप पुर्वाधारका लागि समेत योजना बनिरहेको मन्त्री लम्सालले बताए। 

मनाङका संघीय सांसद पाल्देन गुरुङले पर्यटक आगमनको सिजनमा नियमित उडान गराइने बताए। अंग्रेजी महिनाको अक्टोबरदेखि मार्चसम्म मनाङ पर्यटक आगमनका लागि उपयुक्त मौसम हो। नौ सय मिटरको धावनमार्ग रहेको यो विमास्थल २०७० सालमा कालोपत्रे गरिएको थियो। तर कालोपत्रै भएदेखि नै नियमित उडान हुन सकेको थिएन। कहिलेकाही चार्टर विमानहरुले उडान गर्ने गरेका थिए। 

११ हजार १ सय ४५ फिट उचाइको हुम्डे विमानस्थलमा विश्वको १८औं अग्लो स्थानमा रहेको विमानस्थल हो।