जनकपुर- प्रदेश २ को शुक्रबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल कांग्रेसको अवरोधले स्थगित भएको छ।
प्रदेशसभा बैठक सुरु भएलगत्तै कांग्रेसका सांसद शिवचन्द्र चौधरीले गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत गराइएको कामको भुक्तानीको सरकारले जवाफ नदिएको विरोधमा संसद चल्न नदिने भन्दै विरोध गरे। उनको समर्थनमा कांग्रेस र नेकपाका अन्य सांसदले पनि उठेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो।
'सरकारले भुक्तानीबारे संसद्मा जवाफ दिनुपर्छ', सांसद चौधरीले भने, ‘मुख्यमन्त्री लालबाबु राउतले वितरण गरिरहेको साइकल वितरणमा प्रदेश सांसदको उपेक्षा गरेका छन्। साइकल वितरण कार्यक्रममा सम्बन्धित क्षेत्रको सांसदलाई नबोलाएर मुख्यमन्त्रीले अपमान गरेका छन्।’
मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानमा विद्यालयमा साइकल वितरण गर्दा सम्बन्धित क्षेत्रमा सांसदलाई जानकारी नदिएको उनले गुनासो गरे। चौधरीले भने, 'मुख्यमन्त्रीले गुपचुप रुपमा साइकल वितरण गर्न मिल्दैन, प्रदेश सांसदलाई जानकारी नै नगराई साइकल वितरणबारे चित्तबुझ्दो जवाफ सरकारबाट नआएसम्म संसद् चल्न दिँदैनौं।’ उनले सभामुखको रुलिङ्ग अटेर गरी सरकारले सदनमा जवाफ नदिनु संसद्को अवहेलना भएको आरोपसमेत लगाए।
त्यसैगरी नेकपाका सांसद रामचन्द्र मण्डलले २० प्रतिशतसम्म कमिसन दिएको योजनामा सम्झौता, कार्यादेश दिइ दुई दिनमै भुक्तानी दिने तर कमिसन नदिने उपभोक्ताको चेक नबनाएको आरोप लगाए। उनले भने, ‘मेरो क्षेत्रमा उपभोक्ता समितिमार्फत जनताले काम गरेको छ, तर असारमा भुक्तानी हुने पैसा भदौ बित्न लाग्दासमेत भएन। हामीसँग काम गरेको पैसा जनताले माग्छन्, हामीले कहाँबाट दिने? जबसम्म सरकारले विकासे कामको पैसा दिने ग्यारेन्टी गर्दैन, तबसम्म संसद चल्न दिदैनौं।’
यसअघि गत आइतबारको बैठकमा सभामुख सरोजकुमार यादवले भुक्तानी सम्बन्धमा सरकारलाई जवाफ दिन रुलिङ्ग गरेका थिए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।