सिन्धुपाल्चोक-
- तेम्बाथानकी याङ्जी शेर्पाले बुहारी सुत्केरी गराउनकै लागि डेढ लाख रुपैयाँ खर्चेर हेलिकोप्टरबाट काठमाडौं लगेर उपचार गराइन्। गाउँमा स्वास्थ्य चौकी नभएकै कारण सामान्य बिरामीले पनि रोग पालेर वस्नुपर्छ। घरबाट टाढा रहेका आफ्ना आफन्तको खबर लिन पनि आफै पुग्नुपर्छ।
- बस्तीलाई अझै सडकले छोएको छैन। सिन्धुपाल्चोकको सबैभन्दा उत्तरी भेगमा पर्ने जुगल हिमाल फेदीको गाउँ तेम्बाथानमा पुग्न मात्रै जिल्लाको गाडी पुग्ने बिन्दु अम्बाखर्कबाट कम्तीमा ५ घन्टाको अक्कर उकालो छिचोल्नुपर्छ।
- आलु, कोदो, जौको परम्परागत खेती र चौरीपालनकै भरमा जेनतेन गुजारा गरिरहेका तेम्बाथानवासी अझै पनि ढुंगेयुगकै जिवन बाँचिरहेका छन्। ‘हामीकहाँ रेडियो बज्दैन, एफएम आउँदैन,’ जुगल गाउँपालिका ३ का कामी शेर्पा भन्छन्, ‘उही तल बजारबाट यता कोही आए भने अथवा कोही लोकल नेता भेटिए भने देशको नयाँ खबर थाहा हुने हो, अरू कुनै उपाय छैन।’
- सडकले गाउँ नजोडिएका कारण तेम्बाथान एवं नजिकका दिपु, तेगा, साङ्लुङ टोलका मानिस कुनै कामले सदरमुकाम वा राजधानी जान परेमा एक रात कात्तिके बजार वा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङमा बास बसेर मात्रै गाडी चढेर गन्तव्यमा जानुपर्छ।
- बालबालिकाले कक्षा तीनभन्दा माथिको शिक्षा पाउँदैनन्। गाउँमै रहेको कहिलेकाहीँ खुल्ने तेम्बाथान आधारभूत विद्यालयमा पढेपछि धेरैले पढाइ छाड्छन्। सोभन्दा माथि पढ्न कम्तीमा ५ घन्टा हिँडेर गुम्बाथान नै जानुपर्छ। अथवा बराम्ची वा जलवीरेमा कोठा भाडामा बसेर नै पढ्नुपर्छ।
- २०७२ को भूकम्पमा सबै १ सय ८ घरधुरी भत्किएको गाउँका बासिन्दा अझै पनि अधिकांश टहरो वा चौंरीगोठमै बसिरहेका छन्।
- गाउँका अधिकांश युवा खाडी मुलुकदेखि इराक र मलेसिया पुगेका छन्। विदेश जान नसकेकाहरु पनि काठमाडौं रोजगारीका लागि गएका छन्। गाउँ युवाविहीन छ।
हवाई एम्बुलेन्स नै विकल्प
सहरबजारमा अन्तिम अवस्थामा मात्रै हवाई एम्बुलेन्स प्रयोग गरिन्छ। तर सडकसमेत नभएको कारण तेम्बाथानवासी भने हरेक रोगको उपचार गराउन हेलिकोप्टरको महँगो भाडा तिर्न बाध्य छन्। पैसा नहुनेले मृत्यु कुर्नुको विकल्प छैन। ‘बुहारी सुत्केरी गराउन हेलिकोप्टरबाट तल (काठमाडौं) लाँदा लिएको ऋण अझै तिरिकसेको छैन,’ तेम्बाथानकी याङ्जी शेर्पाले भनिन्, ‘हेलिकोप्टरमा नलगेको भए अहिले बुहारी र नाति दुवैको मुख देख्न पाउने थिइनँ, ज्यान रहे ऋण त तिर्दै गरुँला नि।’
याङ्जी जस्तै सबै तेम्बाथानवासी यस्तै पीडामा छन्। गाउँमा युवा नभएका कारण स्ट्रेचरमा बोकेर लैजाने अवस्थासमेत छैन। स्ट्रेचरमा बोक्न कोही तयार भइहाले भने पनि भीर र पहिरोको गोरेटो बाटो छिचोल्नु कुनै युद्ध लड्नुभन्दा कम छैन। बिरामीसँगै बिरामी बोक्ने छिमेकीसमेत त्यही भीरले खाइदेला भन्ने डरले उनीहरु बरु ऋण गरेरै भए पनि हेलिकोप्टरमै अस्पताल जान बाध्य छन्।
सडक सुविधा नभएकै कारण थोरै पैसाले हुने उपचारको लागि पनि लाखौं खर्च गर्नुपर्ने बाध्यता छ। लिएको ऋणको ब्याज तिर्दातिर्दै जिन्दगी सकिन्छ, ऋण सकिँदैन।
सडक सुविधा नभएकै कारण यहाँको उत्पादन पनि बजारसम्म पुग्न पाउँदैन। यहाँ उत्पादन हुने आलु, मुला, जौ जस्ता अर्गानिक कृषि उत्पादन बजार पुर्याउन नै दुई दिनभन्दा बढी समय लाग्छ। बल्लबल्ल बोकेर पुर्याएको सामानले पाएको मूल्यले बोकेको ज्याला पनि उठ्दैन। सडक सुविधा मात्रै हुने हो भने पनि उपचारकै लागि हेलिकोप्टर प्रयोग गर्नु बाध्यताबाट मुक्त हुने याङ्जीले बताइन्।
सरकारले हालै मात्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकासहित केही स्थानीय तह र अन्य जिल्लामा हवाई एम्बुलेन्स नि:शुल्क गराएपछि भने उनीहरुले केही सहजता महसुस गरेका छन्।
पढाइ तीन कक्षा मात्रै
तेम्बाथानका मिक्मार शेर्पा अहिले २९ वर्षका भए। उनले गाउँकै तेम्बाथान आधारभूत विद्यालयमा कक्षा तीनसम्मको औपचारिक शिक्षा लिएका छन्।
‘गाउँमा बसेर यही भीरपाखोमा काम गर्न त्योभन्दा बढी पढाइ त किन चाहियो र,' शेर्पाले भने, ‘तीन कक्षाभन्दा माथि पढ्न त त्यतिबेला टाढा जान सकिएन, अहिले जान मिलेन।’ कक्षा तीनमै विद्यालय छाड्नु उनको बाध्यता हो। उनी जस्तै उनका सहपाठीले पनि सोभन्दा बढी शिक्षा लिएका छैनन्।
त्यो भन्दा माथिल्लो तह पढ्न जानुपरे कम्तीमा ५ घन्टा टाढा गुम्बाथान पुग्नुपर्छ। १०/११ वर्ष उमेरका बालबालिकालाई त झन् त्योभन्दा बढी समय लाग्छ। त्यसमाथि भीर, पहिरो र खोलाको बाटो भएका कारण परिवारले पनि सो बाटो पठाउन मान्दैनन्।
गाउँमै भएको विद्यालयसमेत नियमित सञ्चालन हुदैन। शिक्षकहरु आलोपालो विद्यालय चलाउछन्। एकै दिनमा सबै शिक्षक विद्यालयमै भेटाउनु धेरै नै दुर्लभ हुन्छ। एउटै कोठामा सबै कक्षाका विद्यार्थीले पढ्नुपर्ने बाध्यता छ।
सामान्य अक्षर चिन्न सक्ने भएपछि र अलिअलि काम गर्न सक्ने भए पनि कोही पनि युवायुवती गाउँमा बस्दैनन्। धेरैजसो युवा खाडी मुलुक पुग्छन्। युवतीहरु पनि कुवेत, इराक जस्ता मुलुकमा पुगेर आफ्नो श्रम र जवानी बेचिरहेका छन्। विदेश नगएकाहरु भने काठमाडौंकै गलैंचा कारखाना, होटल, रेस्टुराँमा काम गर्छन्।
'खोप नपाए मरी त हाल्दैन नि'
साबिक गुम्बा गाविसमा पर्ने तेम्बाथानका जनताले सामान्य उपचारको लागि स्वास्थ्य चौकी जानुपरे कम्तीमा एक दिन हिँडेर पाङ्गर्पु पुग्नुपर्छ। सुत्केरी जाँच, गर्भपरीक्षण, बच्चालाई लगाउनुपर्ने नियमित खोपका लागि समेत पाङ्गर्पु नै पुग्नुपर्ने कारण अधिकांश बच्चाले खोप लगाउन पाउँदैनन्। सरकारले विभिन्न समयमा अभियानमार्फत सञ्चालन गर्ने पोलियो थोपा, भिटामिन ए लगायतका कार्यक्रममा पनि उनीहरु सहभागी हुन सक्दैनन्।
गुम्बाथानमा मासिक रुपमा गाउँघर कार्यक्रम सञ्चालन गर्ने गरेको भए पनि त्यहाँसम्म जान पनि उनीहरु सक्दैनन्। ‘यस्तो भीर पहिरोको बाटो छ,’ स्थानीय कामी शेर्पाले भने, ‘खोप नपाए पनि मरी त हाल्दैनन् होला नि, तर भीरबाट लडे मर्लान् भन्ने डरले नै गुम्बाथान पठाउँदैनौं।’
सोलारकै भर
तेम्बाथानमा नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन। धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ। केही हुनेखाने परिवारले सोलार जडान गरेका छन्। तर बर्खामास घाम देख्न महिनौं कुर्नुपर्ने कारण ती सोलार पनि प्रयोगमा आउँदैनन्।
बिजुली नभएकै कारण पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित छन्। टुकी बत्तीको धुवाँका कारण धेरै मानिसमा श्वासप्रश्वास र आँखा तथा टाउको दुख्ने समस्या छ। टुकी बाल्ने मट्टितेल पनि सकिएको समयमा भने उनीहरु अँध्यारो नहुँदै खानपान सकेर सुत्छन्।
गाउँपालिकाको आस
जुगल गाउँपालिकाले जुगल हिमशृंखला अन्तर्गत पर्ने ग्याल्चेन पिक आरोहणको परीक्षण सफल भएपछि भने उनीहरुमा केही आस बढेको छ। तेम्बाथानकै बाटो भएर सो हिमाल आरोहण हुने हुनाले सो स्थानका स्थानीयले पथप्रर्दशकको अवसर पाउने र पाहुनालाई समेत आफ्नै घरमा होम स्टे सुविधा दिएर केही आयआर्जन समेत गर्न सकिने आस उनीहरुले लिएका छन्।
गाउँपालिकाले तेम्बाथान हुँदै नेपेमासालसम्म मोटरबाटो पुर्याउने योजनासमेत अगाडि सारेकाले अबचाहिँ आफ्नो बस्तीको मुहार फेरिने आस लागेको स्थानीय कामी शेर्पाले बताए।
गुम्बा र तेम्बाथाङ गाउँलाई न्हेसम खोलाले छुट्याएको छ। अहिले न्हेसममा माथिल्लो र तल्लो गरेर दुई जलविद्युत् आयोजना बन्न थालेपछि यहाँको चहलपहल बढेको छ।
वडाको प्रतिबद्धता
यो गाउँमा अहिलेसम्म कुनै पनि मोबाइल सेवा सञ्चालन हुन नसकेको जुगल गाउँपालिका–३ का वडाध्यक्ष सानुकान्छा तामाङ बताउँछन्। त्यसैकारण पनि यो क्षेत्र सञ्चारमा निकै पछाडि रहेको छ।
उनका अनुसार सडक र विद्युतसँग तेम्बाथान अझै जोडिन सकेको छैन। सडक निर्माणले भर्खरै गति लिँदैछ। स्थानीय सरकार आएपछि वडा नं ३ को पहलमा सडक निर्माण कार्य सञ्चालन भएको छ। निर्माणाधीन बलेफी हाइड्रोपावर र सिन्धुज्वाला हाइड्रोपावरको सहयोग राम्रो छ। तेम्बाथान मात्रै नभई सिंगो वडाभित्रको सडक मर्मत र नयाँ ट्रयाक खोल्ने काम भएको छ। गुम्बा हुँदै अम्बाखर्कसम्म पुगेको सडक विस्तार गरेर तेम्बाथानसम्म पुर्याउन वडाले रकम विनियोजन गरेको छ।
सडक स्तरोन्नति र थप बजेटका लागि वडाले गाउँपालिकामा पहल, हाइड्रोसँग पनि सहयोगका लागि माग गरेर तत्काल काम सुरु गर्ने योजना अगाडि बढाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।