नेताकेन्द्रित र गुटकेन्द्रित प्रवृत्तिले पार्टीलाई ध्वस्त पार्छ : प्रचण्ड

रासस | २०७६ भदौ २८ शनिबार | Saturday, September 14, 2019 ०९:२३:०० मा प्रकाशित

इलाम- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सक्रिय रूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन्।

इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था सुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको बताए।

अध्यक्ष प्रचण्डले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत उल्लेख गरे। नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै उनले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने धारणा राखे।

आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको उनको भनाइ थियो। 'म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु,' उनले भने, 'कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोलेँ भन्नु निराधार हुन्छ।'

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान निर्माणसमेत अहिले एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए। पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको उनले बताए।