डडेल्धुरा- डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक नगर इन्चार्जले रिहाइलगत्तै पार्टी परित्याग गरेका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट १५ हजार धरौटीमा छुटेका परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन दमाई (नेपाली) ले पार्टी त्यागेका हुन्।
भदौ १८ गते बुधबार प्रहरीको टोलीले उनलाई गाउँबाटै पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि सार्वजनिक शान्तिविरुद्धको मुद्धा जिल्ला प्रशासनमा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।
रिहा भएलगत्तै शुक्रबार साँझ एक प्रेस विज्ञाप्ति जारी गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
‘नेपाल कम्युनिस्ट पार्टी परशुराम नगर इन्चार्जका रुपका काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत मलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी सो पार्टी परित्याग गरिएको जानकारी गराउँदछौं। साथै आइन्दा कुनै पनि किसिमको हिंसात्मक गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछौं,’ नेपालीद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।