धनगढी- दसैंतिहार नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझै सुपथ मूल्य पसल खुल्न सकेका छैनन्।
साल्ट ट्रेडिङ कर्पोरेसनले हालसम्म धनगढी उपमहानगरपालिकामा मात्रै सुपथ मूल्य पसल सञ्चालन गरेको छ। कर्पोरेसनको धनगढी क्षेत्रीय कार्यालयले विगतका वर्षमा कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुराको अमरगढी तथा बैतडीको पाटनमा दसैंतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो।
कर्पोरेसनका सूचना अधिकारी रामचन्द्र जोशीले ढुवानी समस्याका कारण धनगढीबाहेक अन्य ठाउँमा तत्काल सुपथ मूल्य पसल सञ्चालन ल्याउन नसकिएको बताए। सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित कुनै पनि मालबाहक ट्रक ढुवानी भ्याटमामा दर्ता नभएकाले सामग्री ढुवानी गर्न नसकिएको उनले बताए। सरकारले चालू आर्थिक वर्षदेखि ढुवानीमा पनि भ्याट लगाउने निर्णय गरेको छ।
सूचना अधिकारी जोशीले ढुवानीका लागि दुई पटक बोलपत्र आह्वान गर्दा पनि कर्पोरेसनले तोकेको ढुवानी भाडाभन्दा निकै बढी रकमको आवेदन प्राप्त भएको बताए। उनले छिट्टै धनगढी बाहेकका बजार तथा जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन ल्याइने बताए।
कर्पोरेसनले भदौ २३ गतेदेखि धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
खाद्य संस्थानले अझै सुरु गरेन
नेपाल खाद्य संस्थानले यस वर्ष पनि सुपथ मूल्यमा चामल बिक्रीमा ढिलाइ गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसलबाट धनगढीमा नुन र चिनीको बिक्री सुरु गरिसकेको भए पनि खाद्य संस्थानको धनगढी अञ्चल कार्यालयले अझै चामल बिक्री सुरु गरेको छैन।
खाद्य संस्थानका सेती अञ्चल कार्यालय प्रमुख प्रेमनारायण भण्डारीले भोलि आइतबारदेखि चामल बिक्री सुरु गरिने बताए। कर्मचारी व्यवस्थापन र ढुवानीका कारण समय लागेको उनको भनाइ छ।
भण्डारीका अनुसार बजारमा सोना मनसुली चामलको मूल्य प्रतिक्विन्टल ४ हजार ६ सय रुपैयाँ रहेकोमा सुपथ मूल्य पसलमा ४ हजार एक सय रुपैयाँ क्विन्टलमा बिक्री गरिनेछ भने बजारमा जिरा मसिनो प्रतिकिलो ५७ रुपैयाँमा बिक्री भइरहेकोमा सुपथ मूल्य पसलबाट ५२ रुपैयाँमा बिक्री गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।