काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अघि बढ्न निर्देशन दिएकी छन्। काठमाडौंमा आयोजित सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताइन्। संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उनले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्ने गरी काम गर्न आग्रह गरिन्।
‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानुन बनाउँदैछौं। सहकारीको हातखुट्टा बाँधेर प्रगति हुदैन,' मन्त्री अर्यालले भनिन्, ‘माटोले जे खोज्छ, बजारले के खोज्छ, त्यै गर्नुस्। भएको पैसा उत्पादनमूलक कार्यमा लगाउनुस् र बढीभन्दा बढी युवालाई रोजगारी दिनुस्।’
अबको पुरानो कानुनले आजको सहकारीको आवश्यकता पूरा नगर्ने भन्दै मन्त्री अर्यालले सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्नका निम्ती ऐन संशोधन गरेर अगाडि बढ्ने बताइन्।
दिगो लक्ष्य हासिल गर्नका निम्ति द्रुतगतिमा बढीभन्दा बढी मान्छे सहभागी गराएर उत्पादनमा लगाउनुपर्ने बताएकी उनले भनिन्, ‘गाउँमै उत्पादन बढाउने त्यसपछि रोजगारी सिर्जना गरेर अब विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ,' उनले भनिन्।
यसैगरी ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै मन्त्री अर्यालले अब बचत तथा ऋण सहकारीले पनि निश्चित उद्देश्य लिनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।