काठमाडौं- 'एक व्यक्ति, एक डिम्याट खाता' नीति लागू गरेको लामो समय भइसक्दा पनि कार्यान्वयन नभएको देखिएको छ। नेपाल धितोपत्र बोर्डले सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई अनधिकृत रुपमा डिम्याट खाता खोल्ने गरेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनेपछि एक व्यक्ति एक डिम्याट नीतिको विषय फेरी चर्चामा आएको हो।
एक व्यक्तिले एकभन्दा बढी र अरु व्यक्तिको नाममासमेत डिम्याट खाता खोल्ने गरेको देखिएको भन्दै धितोपत्र बोर्डले त्यस्ता डिम्याट खाताको विवरण संकलन गरी असोज १० गतेभित्र बुझाउन निर्देशन दिएको छ।
‘डिम्याट डुप्लिकेसन सम्बन्धमा निक्षेप सदस्यहरुको निरीक्षण गरी १५ दिनभित्र निरीक्षण प्रतिवेदन बोर्डमा पेस गर्न निर्देशाअनुसार अनुरोध छ,’बोर्डले पठाएको पत्रमा भनिएको छ।
निक्षेप सदस्यहरुले सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समते डिम्याट खाता खोल्ने गरेको, एउटै व्यक्तिले अनधिकृत रुपममा अन्य धेरै व्यक्तिको नाममा समेत खाता खोल्ने गरेको र यस्ता खाताहरुको नवीकरण गर्ने गरेको लगायतका गुनासाहरु प्राप्त भएको भन्दै धितोपत्र बोर्डले सिडिएससीलाई पत्र पठाएको देखिन्छ।
यस्तो प्रकारको कार्य गरेको भेटिएमा धितोपत्रसम्बन्धी ऐन बमाजिम कारबाही हुँने पनि धितोपत्र बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।