काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले इन्डो-प्यासेफिक रणनीतिबारे नेपालको नीति अनुसारै बोलेको बताएका छन्।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा तथाकथित इन्डो -प्यासेफिक रणनीतिलाई नेपालले अस्वीकार गर्छ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड विवादमा तानिएका छन्।
'चाहे त्यो बिम्स्टेकको सन्दर्भको होस्, चाहे त्यो इन्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस्, हाम्रो राष्ट्रहितलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं,' आफूले विदेशमन्त्री वाङसँग राखेको कुराबारे शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'मैले, प्रधानमन्त्रीजी र परराष्ट्रमन्त्रीले भनेको त्यही हो। मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो।'
प्रचण्डले अभिव्यक्ति चिनियाँ विदेश मन्त्रालयको 'प्रेस नोट'बाट सार्वजनिक भएपछि अमेरिकाले यसप्रति चासो राख्दै नेपाल सरकारको धारणा माग गरेको छ।
त्यही सन्दर्भमा अमेरिकी राजदूत र्यान्डी बेरीले बिहीबार परराष्ट्र सचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए।
नेपालको विदेश नीति प्रष्ट रहेको भन्दै उनले कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल नहुने बताए। 'हाम्रो विदेश नीति प्रष्ट छ,' उनको भनाइ छ, 'असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन। हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। हामी असंलग्न रहन्छौं।'
चीनविरुद्ध हुने गतिविधिलाई साथ नदिने नेपालको नीति रहेको भन्दै प्रचण्डले इन्डो-प्यासिफिकका सन्दर्भमा त्यही लागू हुने बताए।
'हाम्रो चीनका बारेमा एक चीन नीति छ,' उनले भने, 'हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिएनौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो। यही कुरा मैले गरेको हो। इन्डो -प्यासिफिकका सन्दर्भमा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सैह्य छैन भनिएको हो।'
गलत प्रचार
प्रचण्डले आफ्नो भनाइबारे चिनियाँ सरकार र परराष्ट्रबाट वक्तव्य नआएको समेत दाबी गरे।
'प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रूपमा आएको होइन', उनको दाबी छ, 'कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो। त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन।'
तर, उनको अभिव्यक्तिबारे अहिले पनि चिनियाँ विदेश मन्त्रालयमा प्रेस नोट प्रकाशित छ।
उनले आफ्नो भनाइबारे अमेरिकाले चासो राखेको प्रचार पनि गलत रहेको दावी गरे।
'अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले जानकारी मागेको पनि होइन,' प्रचण्डको भनाइ छ, 'त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो। आधिकारिक रुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो।'
अमेरिकाप्रति नकारात्मक छैन
प्रचण्डले अमेरिकाप्रति नकरात्मक धारणा बनाउन नखोजेको समेत बताएका छन्।
'मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु, यसमा स्प्ष्ट हुनुपर्छ', प्रचण्ड भन्छन्, 'कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो। क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन।'
भेनेजुएलाबारे पनि आफ्नो भनाइ परराष्ट्र नीति अनुसारै रहेको भन्दै प्रचण्डले भने, 'भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भनिसकेको हो।'
क्युबाका मामिलामा पनि सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्ने आफ्नो मत रहेको उनले बताए। 'जहाँसम्म क्युबाको कुरा हो, क्युबाको पक्षमा त पुरै संसार छ', प्रचण्डको भनाइ छ, 'संयुक्त राष्ट्रसंघबाट अमेरिकी नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ। क्यूबालाई सहयोग र ऐक्यबद्धता जुटाउन चेकी छोरी नै नेपाल आउनु भएको थियो। त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो।'
उनले अमेरिकालाई उत्तेजित पार्नुपर्ने कुनै आवश्यकता नरहेको समेत बताए। 'अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ,' प्रचण्डले भने, 'कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ। म अमेरिका भ्रमणका बेलासमेत यस विषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छु।' तस्बिर- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।