प्युठान- प्युठान जिल्ला अस्पतालमा सरकारी चिकित्सक दरबन्दी १४ हो। तर अहिले अस्पतालमा एक जना पनि दरबन्दीका चिकित्सक छैनन्। करारका दुई जना डाक्टरको भरमा सरकारी अस्पताल धानिएको छ।
दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारका लागि आएका बिरामीले सास्ती खेप्नुपरेको छ। दैनिक २ सय ५० जनाभन्दा बढीले ओपीडी सेवा लिने अस्पताल चिकित्सकविहीन भएपछि कतिपय स्थानीय उपचार नगरी घर फर्कन बाध्य छन् भने कतिपयले महँगो शुल्क तिरी स्थानीय क्लिनिकमा उपचार गराउनु परेको छ।
निकसाइमन इन्स्टिच्युट अन्तर्गतका डा. सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन्। चिकित्सक अभावका कारण २४ घन्टा ड्युटी गर्नुपरेको डा वैद्यले बताए।
'समयमै कर्मचारी व्यवस्था नहुने हो भने अस्पताल बन्द गर्नुपर्ने स्थिति छ,' उनले भने। ८ जना विशेषज्ञसहित ११औं तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी अहिलेसम्म पूरा हुन सकेको छैन। ३ वर्षअघि मन्त्रिपरिषद्को निर्णयले १५ शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शैयाको बनाए पनि हालसम्म विशेषज्ञ सेवा पुग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताए।
जनशक्तिसँगै अस्पतालमा भौतिक सुविधा, पर्याप्त औषधि र उपकरण समेत उपलब्ध हुन नसकेको उनको भनाइ छ। अस्पतालको खातामा लाखौं रुपैयाँ हुँदाहुँदै पनि कार्यालय प्रमुख नभएको र अरुलाई आर्थिक जिम्मेवारी नभएकाले समस्या देखिएको अत्यावश्यक काम समेत रोकिएको सुवेदीले बताए।
साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा थप प्रभावित भएको छ । सोमबार अस्पतालको अवस्थाबारे बुझ्न प्युठान पुगेका प्रदेश ५ स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदकुमार गिरीसँग समेत कर्मचारीले अस्पताल अस्तव्यस्त भएको र असारदेखि पारिश्रमिक पनि नपाएको गुनासो पोखे।
निर्देशक गिरीले कार्यालय प्रमुखलाई अस्पताल छाड्नुको कारणबारे स्पष्टीकरण माग्ने र एक–दुई दिनमै काजमा प्रमुखको जिम्मेवारी तोकेर चिकित्सक पठाउने आश्वासन दिएका छन्। धेरैले संघअन्तर्गतका अस्पताल रोजेकाले प्रदेशअन्तर्गतका अस्पतालमा चिकित्सकको अभाव भएको उनले भनाइ छ।
मेडिकल अधिकृत घिमिरे र सरस्वती सुर्खेती खबरै नगरी हिँडेका छन्। चिकित्सक सुशीला थापा सुत्केरी बिदामा छन्। दुई वर्षदेखि अस्पताल प्रशासन कर्मचारीविहीन छ। लेखापाल नहुँदा औषधि खरिदलगायतका काममा समस्या छ। जिल्ला स्वास्थ्य कार्यालयका लेखापालबाट काम चलाउँदै आए पनि साउनयता लेखाको पूरै काम ठप्प छ।
प्युठान सहित छिमेकी जिल्ला गुल्मी, बाग्लुङ, अर्घाखाँची र रोल्पाका बिरामीले अस्पताल भरिभराउ छ । एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ। यस्तो बेला अस्पताल लथालिंग पारेर निमित्त प्रमुखले अस्पताल छाडेर गएकाले समस्या थपिएको प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए।
अस्पतालमा सेवा नपाएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।