चन्द्रागिरिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

नेपाल लाइभ | २०७६ भदौ २८ शनिबार | Saturday, September 14, 2019 २२:२१:०० मा प्रकाशित

काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ ।

चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नम्बरको ट्रकले बा ८९ प ४३२९ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय वसन्त कार्की गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।