प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताबीच भेटघाट हुँदै

नेपाल लाइभ | २०७६ भदौ २९ आइतबार | Sunday, September 15, 2019 १३:१३:०० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस शीर्ष तहका नेताहरुबीच छलफल हुने भएको छ।

प्रधानमन्त्री ओली निवासमा आइतबार साँझ बैठक हुने तय भएको छ। समसामयिक तथा विवादित नागरिकताका विधेयकका विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी गराएका छन्।

नेपाली नागरिकसँग विवाह गरी नेपाल भित्रिएकी महिलाका सन्दर्भमा अंगीकृत नागरिकताको प्रावधानमा दलबीच सहमति हुन सकेको छैन। नागरिकता ऐन २०६३ को प्रावधानसहित नागरिकता विधेयक पारित गर्नुपर्ने कांग्रेसको माग छ। यही मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले भेटको कार्यक्रम तय गरेको बताइएको छ। 

नेपाली नागरिकसँग विवाह गरी कागजी प्रक्रिया पुगेका विदेशी महिलालाई समयको सीमा तोक्न नहुने कांग्रेसको मत छ। संसदको राज्य व्यवस्था समितिमा कांग्रेसका सांसदहरुले फरक मत राखेपछि शीर्ष नेताबाट उक्त विषय टुंगाउने बताइएको छ।