काठमाडौं– बाँके घटनाका विषयमा प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापा बादलमाथि कांग्रेस सांसदहरुले प्रश्नको वर्षा गरेका छन्।
उनीहरुले संसदमा गृहमन्त्री थापा बादलले ढाँटेको बताएका छन्।
संसद सुरु हुनासाथ कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले समय लिएर बोलेका थिए।
उनले बाँके घटनाबाट आफूहरु विचलित नहुने बताए।
खाँडले गृहमन्त्रीको जवाफ माग गरे। 'गृहमन्त्रीले जवाफ दिनुभयो र हामीलाई चित्त बुझ्यो भने सदन चल्ला, नभए सदन चल्ने अवस्था हुँदैन', उनले भने।
खाँडको जवाफपछि गृहमन्त्रीले जवाफ दिएका थिए।
कार्यक्रमको पूर्व जानकारी प्रहरी प्रशासनलाई नदिए पनि घटनापछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको गृहमन्त्री थापाले जानकारी दिए।
उनले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको र केहीको खोजी कार्य चलिरहेको थापाले बताए। उनले दोषीलाई कारबाही गरिने बताए। 'जो सुकै होस्, कानुन मिच्नेलाई कडा कारबाही गर्न हामी दृढ छौं', गृहमन्त्री थापाले भने।
उनले यस किसिमको कार्यक्रम गर्दा प्रशासनलाई पूर्व जानकारी दिन गृहमन्त्रीले आग्रह गरे।
उनले घटनालाई राजनीतिक नगर्न आग्रह गरे।
गृहमन्त्रीको जवाफपछि पनि खाँडले प्रतिप्रश्न गर्दै घटनाप्रति सरकार गम्भीर नभएको बताए।
त्यस्तै, दिलेन्द्र बडुले सरकारले घटनालाई राजनीतिकरण गरेको आरोप लगाए। उनले घटनामा नेकपाका तर्फबाट वडाध्यक्ष नै रहेको बताए।
पुष्पा भुसालले अन्य व्यक्तिको नाम लिएर नेकपाको कार्यकर्ता जोगाउन गृहमन्त्री लागिपरेको बताए।
त्यस्तै, अमरेश कुमार सिंहले बाँके घटना लोकतन्त्र र सभ्य समाजको लागि हमला भएको बताए।
प्रकाश रसाइलीले पार्टीले दिएको किटानी जाहेरी दिएको व्यक्तिको नाम नलिएर अन्य व्यक्तिको नाम लिएर गृहमन्त्रीले झुक्याएको आरोप लगाए।
रामबहादुर बिष्टले पञ्चायतकालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अगाडि सारिने गरेको सम्झाए। 'अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अगाडि सारिँदैछ। अरिंगाल र मण्डले एकै हुन् कि फरकफरक हुन्?', उनले भने।
त्यस्तै गगन थापाले सरकारले तथ्यलाई तोडमोड गरेको आरोप लगाए।
बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा नेकपा कार्यकर्ताले कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरेका थिए। आक्रमणबाट हातमा चोट पुगेको थियो।
सांसदहरुको प्रश्नपछि जवाफ दिँदै गृहमन्त्री थापाले सरकारले घटनालाई सामान्य रुपमा नलिएको बताए।
कुनै पार्टीले निर्णय गरेको घटना नघटेको बताए। 'संलग्नहरु नेकपाको कार्यकर्ता हुनसक्छन्। तर उनीहरुलाई पार्टीले निर्णय गरेर पठाएको होइन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।