राजविराज- बालदिवसमै कुनै कार्यक्रम आयोजना नगरेको भन्दै राजविराज नगरपालिकाका बालबालिकाले आइतबार मेयर शम्भु यादवलाई ५ रुपैयाँ पुरस्कार दिएका छन्।
नगरपालिकाले बालबालिकाको पक्षमा कुनै सकारात्मक काम नगरेको गुनासोसहित ज्ञापनपत्र बुझाउन पुगेका बालबालिकाले ज्ञापनपत्रसँगै ‘५ रुपैयाँको नोट पुरस्कार’ भन्दै बुझाएका हुन्।
बालदिवस मनाउन नगरपालिकाले बजेट नछुट्याएकाले विरोधस्वरुप ५ रुपैयाँ सहयोग गरेको जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष वरदान श्रेष्ठले बताए।
मुलुकभर भव्य रुपमा राष्ट्रिय बाल दिवस मनाइरहँदा राजविराजमा पनि आफूहरूले कार्यक्रम गर्न माग गर्दा चासो नदेखाएको श्रेष्ठले गुनासो गरे।
सामाजिक विकास अधिकृत एवम् सूचना अधिकारी मनोज यादवलाई पटक-पटक आग्रह गर्दा बजेट पन्छिने गरेकाले सहयोग गर्नु परहेको उनको तर्क छ। ज्ञापनपत्रमा मुलुकमा डेंगुरोगले भयावह अवस्था सिर्जना गरे पनि नियन्त्रण र सरसफाईमा नगरपालिकाले पहल नगरेको आरोप लगाइएको छ।
मेयर यादवले राष्ट्रिय बाल दिवस मनाउन सहयोगका लागि बाल संजाल तथा बालक्लबहरु आएको विषय आफूलाई जानकारी नभएको बताउँदै त्यसबारे जानकारी लिने बताएका छन्।
आगामी दिनमा बालबालिकाको क्षेत्रमा हुने जुनसुकै गतिविधिमा आफूले ध्यान दिने उनले प्रतिबद्धता जनाएका छन्।
नाराबाजी र प्रदर्शन
ज्ञापनपत्र बुझाउनुअघि बालबालिकाले राजविराजमा नाराबाजी सहित प्रदर्शन गरेका थिए। जिल्ला बाल संजाल, नगर स्तरीय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालका संघसंस्थाको अगुवाइमा स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सुरु भएको जुलुस नगरपालिका पुगेको थियो।
जुलुसमा नगरपालिका विरुद्धसमेत नाराबाजी गरिएको थियो।
यस्तो छ ज्ञापन पत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।