काठमाडौं- बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको छ। आइतबार प्रतिनिधिसभामा अवरोध गरेको कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको हो।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ। बिहीबार बाँके खजुरा गाउँपालिका-२ सीतापुरमा कांग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए।
दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेकपा कार्यकर्ताले अवरोध गर्दा झडप भएको थियो। आक्रमणमा बाँके सभापति किरण कोइरालालगायत घाइते भएका थिए। घटनाबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभामा घटना बारेमा स्पष्टिकरण दिएका थिए।
तर उनले उक्त घटना राजनीतिक कारणले नभएको जवाफ दिएपछि काँग्रेस सांसदले त्यसप्रति असहमत हुदै संसद अवरोध जारी राखेका थिए।
गृहमन्त्री थापाले घटनामा संलग्नलाई पक्राउ गरिएको र कडाभन्दा कडा कारबाही गर्ने बताए। कांग्रेसले आफ्नो जागरण अभियानका बारे प्रशासनलाई पूर्वजानकारी नदिँदा पनि घटना हुन पुगेको दाबी गरे।
गृहमन्त्रीको जवाफ कांग्रेस सांसदले चित्त नबुझाएपछि उनीहरुले उठेर अवरोध गरेका थिए। त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।