काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भर्खरै प्रमोसन भएर आएको क्लब नरविच सिटीसँग ३-२ ले पराजित भयो। हारपछि म्यानसिटीका प्रशिक्षक पेप गार्डिओलाले आफूहरुले राम्रो खेले पनि गोलबिना केही हुन नसकेको बताए।
‘फुटबलमा गल्तीबाट टाढा रहन सधैँ सकिँदैन रहेछ, हामीले पोस्टमा कति सट प्रहार गरेका थियौँ र उनीहरुले कति सट हाने मलाई थाहा छैन तर फुटबल कति गोल हुन्छ भन्ने मात्रै हो, त्यसैले उनीहरुले जितेका छन्। बधाई दिन चाहन्छु’ गार्डिओलाले भने।
आफूहरुले नरविचसँगको खेलबाट सिक्नुपर्ने भन्दै उनी अगाडि भन्छन्- ‘पहिलो गोल सेट पिसमा थियो, दोस्रो गोल पनि काउन्टरमा राम्ररी गरे त्यसैले जितको सम्पूर्ण श्रेय उनीहरुको खेललाई नै जान्छ। हाम्रो पनि पास नराम्रो भएको होइन, राम्रो नै थियो, अवसरहरु बनाएका हौँ तर गोल हुन सकेन।’
नरविचका लागि केनी म्याकलिनले १८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा टोड क्यान्टवेलले अग्रता दोब्बर बनाए। ४५ औँ मिनेटमा म्यानसिटीका सर्जियो अग्युरोले गोल गरेका थिए। त्यसपछि नरविचका लागि ५० औँ मिनेटमा टिमु पुक्कीले अर्को गोल थपे। म्यानसिटीका रोड्रिगोले ८८ औँ मिनेटमा गोल गरे पनि हार टर्न सकेन।
जितपछि नरविचका प्रशिक्षक ड्यानियल फार्कले आफूहरुका लागि खुसीको दिन रहेको प्रतिक्रिया दिए। ‘हाम्रो लागि यो धेरै खुसीको दिन हो। टिममा धेरै खेलाडी घाइते भएर टिम छनोटमा नै समस्या भएको अवस्थामा समेत हामीले जित्न सक्नु सानो कुरा होइन’ उनले भने।
नरविच सिटीले प्रिमियर लिग च्याम्पियनसँग १५ खेल खेल्दा दोस्रो खेल मात्रै जितेको हो। यसअघि पनि २०१३ को मे महिनामा नरविचले म्यानचेस्टर सिटीलाई नै हराएको थियो। २०१५ मा ब्रन्लीसँग हारेपछि म्यानचेस्टर सिटी प्रमोसन भएर आएको क्लबसँग पहिलोपटक हारेको हो।
हारपछि ५ खेलमा ३ मा जित १ हार र १ बराबरी गरेको म्यानचेस्टर सिटी १० अंकसहित दोस्रो स्थानमा छ। नरविच ५ खेलमा २ जित र ३ हारसहित १२ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।