काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए।
काङ्ग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो। समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री ढकालको भनाइ छ।
झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचिदिएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने, नागरिकता विधेयकमा संविधानको धारा ६ मा उल्लेख भएअनुसार जानुपर्ने विषय उठान भएको उनले बताए।
नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने कांग्रेसले धारणा राखेको प्रवक्ता शर्माको भनाइ छ।
बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेताहरुका बीचमा विवादित भूमिसम्बन्धी विधेयक, मिडिया काउन्सिलसम्बन्धी विधेयक, नागरिकतासम्बन्धी विधेयकमाथि आवश्यक छलफल गरी अघि बढाउने दिशामा छलफल भएको जानकारी दिए। 'विधेयक ल्याउँदा एकतर्फी रुपमा ल्याउनु भएन भन्ने हामीले भनाइ राख्यौं,' उनले भने, 'उहाँहरुले सच्चिनुपर्ने ठाउँमा सच्चिन तयार रहेको र नियमित छलफल गरौं भनेर भन्नुभयो।'
बाँके घटनामा संलग्नलाई कारबाही गर्न सरकारले प्रतिवद्धता जनाएको पनि महतले जानकारी दिए। जनताको भावनाअनुसार काम नगर्दा सरकारप्रति जनताको तहबाट चरम असन्तुष्टि बढेको र यस्तो अवस्थामा जसले पनि गलत फाइदा उठाउनसक्ने हुँदा सरकार आफैं सच्चिनुको विकल्प नरहेको कांग्रेस नेताहरुले बताएका उनको भनाइ छ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति देउवा र वरिष्ठ नेता पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र मन्त्री ढकाल सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।