सुर्खेत- सुर्खेतको पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट सडकखण्डको ९४ किलोमिटर सडकको २५ वर्षपछि डिपिआरको काम सुरुवात गरिएको छ।
बड्डीचौरलाई शून्य बिन्दुमा राखेर आइतबार प्रतिनिधिसभाका सांसद नवराज रावतले सर्भेको उद्घाटन गरे। पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म जोडिने राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतका काल्चे, मालारानी, बेनिघाटको २ सय ३२ किलोमिटर सडकलाई केन्द्रमा राखी डिपिआरको काम थालिएको हो।
२०५१ सालमा ट्रयाक खोलिएको सडकको केन्द्र बिन्दू बड्डीचौर हुनेछ भने अन्तिम बिन्दु गुटु हुँदै सिमीचौरसम्म दुइ लेनको सडक बन्नेछ। डिपिआर सर्भेका लागि परामर्शदाता कम्पनी सिल्ट सेर्स गोलोकम जेभी ललितपुरले सोमबारदेखि डिपिआर सर्भेको काम सुरु गर्ने सडक डिभिजन कार्यालय सुर्खेतका डिजी गुरुप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार कम्पनीलाई सर्भे गर्न ५० दिनको समय लाग्नेछ भने सर्भेका क्रममा २५ मिटर दायाँ, २५ मिटर बायाँको क्षेत्रफलमा सर्भे गरिनेछ।
पञ्चपु्री नगरपालिकाका प्रमुख उपेन्द्र थापाले ५१ सालमा खोलिएको ट्रयाकले अहिले पूर्णता पाउँदा खुसी लागेको बताए। ‘त्यतिबेला जन्मिएको बच्चा अहिलेको अवस्थामा तन्नेरी हुँदैछ भने सडक बुढो भएको छ,’ प्रमुख थापाले भने, 'यस सडक निर्माणका क्रममा स्थानीय तहमा आउने बाधा अवरोध र सहजीकरणका बारेमा म सदैव सहयोग गर्न तयार छु।'
सडक सञ्जालले जोडिएको बड्डीचौरमा पर्याप्त बजार नहुँदा यहाँको उत्पादन खेर गइरहेको गाउँपालिका प्रमुख तेजबहादुर बस्नेतले बताए। उनले भने, 'यो सडक बनेपछि उत्पादनलाई पूर्वपश्चिममा बिकाउँछौं।'
मंसिरभित्र काम सक्न सांसद रावतको निर्देशन
प्रतिनिधिसभा सदस्य नवराज रावतले डिपिआरको काम मंसिरभित्र सक्न निर्काण कम्पनीलाई निर्देशन दिएका छन्।
सांसद रावतले वषौंदेखि थला परेको सडकलाई फूलबुट्टा भरेर हिउँद र वर्षा नै गाडी गुडेको हेर्न आफू आतुर रहेको बताए। यो सडकको स्तोरोन्नतिका लागि केन्द्र सरकारसँग ४ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए।
सर्भेका क्रममा आउने विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि स्थानीय सरकाले जिम्मेवारी लिनुपर्ने भन्दै उनले मंसिरभित्र डिपिआरको काम सक्ने, माघभित्र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, चैतमा टेन्डरको प्रक्रिया अगाडि बढाई काम सुरुवात गर्ने योजना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।