इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। उच्च अदालत विराटनगरमा कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले अदालतको अवहेलना गरेको भन्दै इटहरीका मेयर चौधरीलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेका हुन्।
इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई विपक्षी बनाई दायर भएको निवेदनमा हदैसम्मको कारबाहीको माग गरिएको छ। मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेका थिए। सोही विषयलाई लिएर उनीविरुद्ध आइतबार मुद्दा दायर भएको हो।
निवेदकहरुको आफ्नो निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएकोले सो कार्य रोक्नको लागि अदालतले अन्तरीम आदेश दिएको थियो। सो आदेश बुझाउन गएका निवेदकहरुकै हातबाट खोसेर उनले आदेशपत्र च्यातेका थिए। इलाका प्रहरी कार्यालय पकलीका प्रहरी हवल्दार पर्शुनारायण सिंहकै अगाडि उनले सो पत्र च्यातेका थिए।
आदेशपत्र च्यातेर अदालतको अवहेलना गरेको साथै सरकारी खर्चमा जथाभाबी निजी जग्गा खनेको भन्दै अदालतमा निवेदन दिएको निवेदकहरुको भनाइ छ।
कल्भर्ट वा बाटो बनाउने योजनाको फाइल माग्दा मेयर चौधरीले 'किन चाहियो' भन्दै हप्काउने गरेको निवेदनमा उल्लेख गरिएको छ। साथै उनले आफ्नो अनुमतिबिना कुनैपनि कागजात नदिन निर्देशन दिएको निवेदनमा उल्लेख छ।
मेयर चौधरीले फाइल नक्सा अध्ययन नगरी हचुवाको भरमा कल्भर्ट बनाउने काम गरेको निवेदकको भनाइ छ। व्यक्तिगत रिसइबी साँध्नको लागि मेयर चौधरीले बदनीयतपूर्ण काम गरेको निवेदनमा उल्लेख गरिएको छ।
मेयर चौधरीको काम पर्यावरणीय र प्रशासनिक रुपमा पनि ठीक नभएको उनीहरुको ठहर छ। मेयरको काम 'स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४' विपरीत काम भएको भन्दै हदैसम्मको कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।