तातोपानी- नजिकिँदै गरेको चाड दसैंलाई लक्षित गरी चीन स्वशासित तिब्बतको खासा क्षेत्रमा सिन्धुपाल्चोकवासीलाई प्रवेश खुला गरिएको छ। व्यापारिक कामका लागि खासा तथा न्यालम जिल्ला जान पाउने गरी सिन्धुपाल्चोकका बासिन्दाकाका लागि मात्रै प्रवेश खुला गरिएको हो।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्याउ, रेडिमेड कपडा, इलेक्ट्रनिक्स सामान, दसैंका लागि भेडाच्यांग्रा लिन जाने व्यापारी र लोड-अनलोड गर्ने मजदुरलाई अध्यागमन कार्यालय कोदारीले प्रवेश पास जारी गर्न थालेको हो। पास उपलब्ध गराउन थालेसँगै दैनिक ५०–६० नेपाली कामको सिलसिलामा खासा प्रवेश गर्ने गरेका अध्यागमन कार्यालयका कर्मचारी तिलक मगरले बताए। अध्यागमनले कन्टेनर चालकका लागि नेपाली नागरिकता र लाइसेन्सका आधारमा फोटो टाँसेर एकवर्षे प्रवेश पास दिने भएको छ।
सिन्धुवासीका लागि नागरिकताको फोटोकपी बुझाएपछि सोही प्रकारको एकवर्षे प्रवेश पास दिइनेछ। हाललाई चालक, व्यापारी वा सर्वसाधारण जो भए पनि सिन्धुपाल्चोकवासीलाई मात्रै पास उपलब्ध गर्ने नियम रहेको अध्यागमनका प्रतिनिधि मगरले जानकारी दिए। चिनियाँ अध्यागमनका अधिकारीले खासा क्षेत्रमा व्यापारका लागि आउने सिन्धुपाल्चोकका नागरिकलाई मात्र पास दिन आग्रह गरेको उनले बताए।
सामान लिन गएका व्यापारी, कन्टेनरका चालक तथा मजदुरहरु हरेक दिन खासा जाने र काम सकाएर सोही दिन तातोपानी फर्कने तथा नसकिएमा पुन: भोलिपल्ट खासा जाने गरेका छन्। खासा क्षेत्रमा एउटा मात्र रेस्टुरेन्ट र एउटा होलसेल पसल मात्रै खुलेका कारण उनीहरुले दिउँसोको खाजासमेत नेपालबाटै लाने गरेका एक मजदुरले बताए।
पहिरोले रसुवागढी सडक अवरुद्ध भएपछि झन्डै एक सय वटा गाडी स्याउ बोकेर खासा हुँदै काठमाडौं भित्रिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।